![]()
एजेन्सी,फागुन ।
साबिकको बिजेता तथा स्पेनिस ला लिगा क्लब रियल मड्रिडले युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सहज जित निकालेको छ । बुधबार राति भएको पहिलो लेगमा रियल मड्रिडले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ३ – १ ले पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई जित दिलाउन क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे । यस्तै रियल मड्रिडको जितमा मार्सेलोले थप एक गोल गरे । पीएसजीका एड्रिन राबिओटले एक गोल फर्काए । पहिलो लेगको जितसँगै रियल मड्रिडले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । तर, रियललाई पिएसजीको घरेलु मैदानमा हुने दोस्रो लेगमा मजबुद प्रदर्शन गर्नुपर्ने हुन्छ । दोस्रो लेग मार्च ६ मा हुनेछ ।
सान्टियागो बेर्नाबेउमा भएको प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता भने पिएसजीले लिएको थियो । खेलको ३३ औं मिनेटमा एड्रिनले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए । खेलको ४५ औं मिनेटमा रियलका रोनाल्डोले पेनाल्टीमा गोल गर्दै खेल १ – १ गोलको बराबरीमा ल्याए ।
पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रियलले दुई गोल गर्दा पिएसजीले थप गोल गर्न सकेनन । रियलको उत्कृष्ट डिफेन्ससामु पिएसजीका स्टार खेलाडी नेयमार गोल गर्न असफल भए । खेलको ८३ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २ – १ को अग्रता दिलाए । त्यसपछि खेलको ८६ औं मिनेटमा मार्सेलोले एक गोल गरेपछि रियलले पिएसजीमाथि ३ – १ को महत्वपूर्ण जित निकाल्यो ।
पिएसजीमाथि दुई गोल गरेसँगै पोर्चुगिज रोनाल्डोले अर्को किर्तिमान कायम गरेका छन् । पिएसजीसँगको खेलपछि रोनाल्डोले च्याम्पियन्स लिग फुटबलमा रियलको लागि १०१ औं गोल पुरा गरेका छन् । रोनाल्डो च्याम्पियन्स लिगको इतिहासमा एकै क्लबको लागि सयौं गोल पुरा गर्ने पहिलो खेलाडी समेत भए ।


