Breaking News.... EverestOnlineKhabar
October 3, 2026

यस्तो छ प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको राजनीतिक यात्राः कान्छो सांसददेखि मुख्यमन्त्रीसम्म

Loading

काठमाडौ,फागुन ।
विसं २०२७ फागुन ११ गते भोजपुरको साविक थिदिंखा–५, पसलभञ्ज्याङ (हाल आमचोक गाउँपालिका–३) मा जन्मनु भएका शेरधन राई नेकपा एमालेबाट प्रदेश नं १ को मुख्यमन्त्री बन्नुभएको छ । प्रदेश प्रमुख प्रा.डा गोविन्दबहादुर तुम्बाहाङले एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । राई एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
विसं २०४४ मा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा शुरु गर्नुभएका राई विसं २०५६ सालको आम चुनावमा भोजपुर क्षेत्र नं २ बाट कान्छो सांसदका रुपमा विजयी हुनुभएको थियो । विसं २०४९÷५० सालमा अनेरास्ववियु भोजपुर जिल्ला अध्यक्ष, २०५० र २०५३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य÷पूर्वाञ्चल प्रमुख बन्नुभएका राईले २०४७ सालमा एमालेको संगठित सदस्यता प्राप्त गर्नुभएको थियो ।
विसं २०४९ मा एमाले भोजपुरको जिल्ला कमिटी सदस्य, २०५१ सालमा दोस्रो जिल्ला अधिवेशनबाट सचिवालय सदस्य, २०५४ मा जिल्ला कमिटीको उपसचिव हुँदै २०५४ सालमा पार्टी विभाजन भएपछि सचिव हुँदै २०५४ सालदेखि २०७० सालसम्म गरी चार कार्यकाल उहाँ एमालेको जिल्ला अध्यक्ष बन्नुभएको थियो ।  विसं २०७० वैशाख २७ गते एमाले वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत हुनुभएका राई २०७१ सालमा एमाले केन्द्रीय सदस्यमा निर्वाचित हुँदै हाल वैकल्पिक पोलिटब्यूरो सदस्य एवं प्रदेश नं १ को सह–इञ्चार्ज रहनुभएको छ ।
विसं २०५६ को आमनिर्वाचनमा भोजपुर क्षेत्र नं २ बाट १८ हजार ४४७ मत प्राप्त गर्दै २७ वर्षको उमेरमा राईले संसद्मा सबैभन्दा कान्छो सांसद्को रुपमा प्रतिनिधित्व गर्नुभएको थियो । विसं २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा भोजपुर क्षेत्र नं २ बाट पराजित हुनुभएका राई २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा भने भोजपुर क्षेत्र नं २ बाट ११ हजार ९२७ मत ल्याएर निर्वाचित हुनुभएको थियो । विसं २०७१ मा तत्कालीन व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिको सभापति हुनुभएका राई विसं २०७२ कात्तिक १९ गते सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता बन्नुभएको थियो ।
गत मंसिरमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा भोजपुर (ख) बाट २० हजार ३३४ मत प्राप्त गरी निर्वाचित हुनुभएका राई गत माघ २६ गते प्रदेश नं १ को एमाले संसदीय दलको नेता बन्नु भएको थियो । मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै राईले प्रदेश नं १ मा भएका स्रोत र साधनलाई उपयोग गर्दै देशकै समृद्ध प्रदेश निर्माण गर्ने अठोट व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed