![]()
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कोषले आईतबार पत्रकार सम्मेलन गरी महाशिवरात्री मेलाको सम्पूर्ण तयारी पूरा गरिएको जानकारी गराएको हो । दर्शनका लागि आवश्यक सबै खालको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा. प्रदिप ढकालले जानकारी दिए ।
कोषले महाशिवरात्रीमा दर्शनसम्बन्धि व्यवस्था, ट्राफिक व्यवस्थापनसम्बन्धि व्यवस्था, आवास, भोजन, स्वयम्सेवक, सरसफाई तथा स्वास्थ्य शिविरसम्बन्धि आवश्यक व्यवस्था गरेको हो । जस अनुसार दर्शनका लागि पिंगलास्थान, उमाकुन्ड र मित्रपार्कबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ ।
महाशिवरात्री मेलामा गाँजालगायतका नशालू पदार्थ सेवन गर्न नदिन व्यापक सुरक्षाकर्मी परिचालन हुनेछ । महाशिवरात्री मेलामा नशालु पदार्थ सेवन गर्न नदिने गरी सुरक्षाको उचित प्रबन्ध गरिएको कोषको दाबी छ ।
यस वर्ष फागुन १ गते महाशिवरात्री मेला परेको छ ।


