![]()
काठमाडौं । बामगठवन्धनको सहमति अनुसार नेकपा एमालेले प्रदेश नम्बर १, ३, ४ र ५ मा मुख्यमन्त्री पाएको थियो । एमालेले मुख्यमन्त्री पाउने भएपनि पार्टी भित्रै आकांक्षीहरु धैरै थिए । त्यसमा पनि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच प्रतिष्पर्धा थियो । प्रदेश नम्बर ४ मा पार्टीको संसदीय दलको नेता पृथ्वीसुब्बा गुरुङ हुने निर्णयसंगै चारवटै प्रदेशमा अध्यक्ष ओली पक्षधर नेता मुख्यमन्त्री हुने निश्चित भएको छ । नेपाल पक्षधर कुनैपनि नेता संसदीय दलको नेता हुन नसकेकाले मुख्यमन्त्रीबाट नेपाल समूह रीङआउट भएको छ ।
प्रदेश नम्बर ४ मा एमाले सचिवसमेत रहेका गुरुङको प्रतिष्पर्धामा किरङ गुरुङ थिए । किरङ गुरुङ पनि संस्थापन पक्षका हुन । केन्द्रबाट गएका महासचिव ईश्वर पोखरेलले किरणको दाबी फिर्ता गराइ पृथ्वीको नाममा सहमति गराए । यो निर्णयसंगै पृथ्वीसुब्बा प्रदेश नम्बर ४ को मुख्यमन्त्री हुने निश्चित भएको छ ।
यसअघि नै प्रदेश नम्बर १ को संसदीय दलको नेतामा ओली पक्षधर शेरधन राई चयन भएका थिए । उनले नेपाल पक्षधर पार्टी सचिव भीम आचार्यलाई हराउँदै सो प्रदेशको मुख्यमन्त्री निश्चित गरेका हुन ।
यस्तै, प्रदेश नम्बर ३ मा नेपाल पक्षधर अष्टलक्ष्मी शाक्यलाई हराउँदै ओली पक्षधर डोरमणि पौडेल दलको नेता हुन सफल भए । प्रदेश ३ मा पनि ओलीको प्रभाव बलियो देखियो ।
प्रदेश नम्बर ५ मा एमालेका स्थायी कमिटी सदस्य अध्यक्ष ओलीका दायाँ हात मानिने शंकर पोखरेल सुरुमै सर्वसम्मत दलका नेता चुनिसकेका थिए । उनी सो प्रदेशको मुख्यमन्त्री हुने निश्चित भएको छ ।
आफनो पार्टीले पाएका चारवटै प्रदेशमा आफू पक्षधर नेताहरुलाई दलका नेता चयन गर्दै मुख्यमन्त्री बनाउने कुरामा ओली सफल भएका छन । यसले नेता नेपाल पक्षधर समूहलाई बिच्काउन सक्ने बिश्लेषण गरिएको छ ।


