![]()
बिराटनगर । नेकपा एमालेले प्रदेश १ मा संसदीय दलको नेता चयन गर्न माघ २६ गतेका लागि तोकिएको निर्वाचनको तयारी तीव्र पारेको छ । दलको नेताका लागि आकांक्षी रहेका तीनजना नेताहरूका नाममा सहमति जुट्न नसकेपछि एमालेले आन्तरिक निर्वाचन गर्ने तयारी गरेको हो । नेता शेरधन राई, भीम आचार्य र जीवन घिमिरेले मुख्यमन्त्रीका लागि दाबी गर्नुभएको छ ।
यो प्रदेशको मुख्यमन्त्री बन्न पहिलो दाबी एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश सहसंयोजक शेरधन राईले गरेका थिए। प्रदेश सभाको निर्वाचन भइसकेपछि नेता राईले आफ्नो सशक्त दाबी रहेको बताउँदै आएका छन्। उनले प्रदेश १ को भौगोलिक बनावट र जातीय अवस्थालाई ख्याल गर्दा आफू मात्रै योग्य रहेको दाबी गरेका छन । उनले दलको नेताका लागि हुने चुनावमा आफू सहज रुपमा बिजयी हुने बताएका छन । पार्टी भित्र हुने सिनियर जुनियरको कुराले व्यक्तिगत क्षमता र प्रभावकारिता रोक्न नहुने उनले बताए । जसले क्षमता प्रदर्शन गर्छ, त्यही नेता हुने उनी बताउँछन ।
यहाँ एमालेका सचिव तथा प्रदेश संयोजक भीम आचार्य पनि मुख्यमन्त्रीका लागि बलिया दाबेदार हुन्। उनले वरिष्ठताका आधारमा आफू मुख्यमन्त्री हुनुपर्ने बताउँदै आएका छन्।
नेता जीवन घिमिरे पनि आफू शेरधन राईभन्दा ’सिनियर’ भएको र आचार्यसँगै राजनीति गरेका कारण आफूयोग्य, सक्षम रहेको बताउँछन्।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले नेता राईलाई नै मुख्यमन्त्री बनाउने गरी लबिङ गरिरहेका छन । राईप्रति वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पनि सकारात्मक देखिन्छन । उनीहरुले भित्रभित्रै आचार्यलाई पनि आश्वासन दिएको बुझिएको छ ।
निर्वाचनको आन्तरिक तीव्र पारिएपनि संसदीय दलको नेता सर्वसम्मत बनाउने प्रयास पनि जारी राखिएको छ । शीर्ष नेताहरुले मिलेर आउन सर्कुलर पनि जारी गरेका छन ।
प्रदेश १ मा एमालेको एकल बहुमत छ। बाम गठबन्धनसहितको सरकार बनाउने तयारी गरेको एमालेको दलको नेता जो बन्छ त्यो व्यक्ति नै मुख्यमन्त्री हुनेछ। त्यसकारण अहिले नेताहरूबीचमा दलको नेता बन्न रस्साकस्सी बढेको छ।


