![]()
काठमाडौ,माघ ।
शिवम् न्यू डायमण्ड कप राष्ट्रिय खुल्ला महिला भलिबलको उपाधिका लागि आयोजक शिवम् न्यू डायमण्ड र र एपीएफबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार भएको खेलको पहिलो सेमिफाईनल खेलमा शिवम् न्यू डायमण्डले पोखराको टप्सउपाबीलाई ३—१ को सेटमा हरायो । दोश्रो सेमिफाईनल खेलमा एपीएफले त्रिभुवन आर्मीलाई ३—० को सोझो सेटमा हराउदै फाइनलमा स्थान बनायो ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलमा आयोजक टोली शिवम् न्यू डायमण्ड एकेडेमीले टप्सउपाबीलाई २५—९, २२—२५, २५—१८ र २५—१५ को सेटमा हरायो । शिवम् न्यू डायमण्डको जितमा उत्कृष्ट प्रदर्शन गरेकी दोश्रो रोजाईकी ओपन स्पाईकर पनमिका राई वुमन अफ दी म्याच चुनिईन् ।
शिवम् सिमेन्टको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिताको दोश्रो सेमिफाईनल खेलमा वुमन अफ दी म्याच चुनिएकी क्विक स्पाईकर हिरा केसीको महत्वपूर्ण योगदानमा एपीएफले बिभागीय प्रतिद्वन्द्वी आर्मीलाई २५—१५, २५—१७ र २५—६ को सेटमा हरायो ।
प्रतियोगितामा वुमन अफ दी म्याच चुनिएका खेलाडीहरुलाई स्पोर्टस् पोशाक उत्पादन कम्पिनी साहास स्पोर्टस्का प्रमुख जनक न्यौपानेले प्रायोजन गरेका छन् । साहास स्पोर्टस्ले प्रतियोगिताका वुमन अफ दी म्याचका सम्पूर्ण खेलाडीहरुलाई आफ्नो ब्रान्टको ट्रायक—सुट उपलब्ध गराएको छ । मंगलबार प्रतियोगिताको फाइनल खेल आयोजक टोली र एपीएफबीच हुनेछ । त्यस्तै टप्स स्कुल र आर्मीबीच तेस्रो स्थानका लागि खेल हुनेछ । तीन दिने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने भनिए पनि नेपाल पुलिस र श्रीगाउँ खेलकुद बिकास समिति दाङको टोलीले सहभागिता नजनाएपछि चार टोलीबीच मात्र प्रतिस्पर्धा गराइएको हो ।
प्रतियोगिताको विजेताले १ लाख ५१ हजार, उपबिजेताले १ लाख १ हजार तथा तेस्रो र चौथो हुनेले क्रमसः ५१ र २१ हजार पुरस्कार पाउनेछन् ।


