![]()
काठमाडौं । भारतीय बिदेशमन्त्री शुष्मा स्वराजको नेपाल भ्रमणलाई लिएर टिका टिप्पणी हुनेक्रम जारी छ । बामगठवन्धनको प्रमुख दल नेकपा एमालेले स्वराजको भ्रमणलाई निकै महत्व दिएर स्वागत गरेपछि गठवन्धनकै अर्को घटक माओवादी भने असन्तुष्ट देखिएको छ ।
नेता नारायणकाजी श्रेष्ठले स्वराजको भ्रमण उचित समयमा नभएको र नेपालका नेताहरुले आफनो मर्यादा कायम राख्न नसकेको असन्तुष्टि पोख्दै ट्वीट गरेको चौबिस घण्टा नबित्दै प्रवक्ता पम्फा भुषालले पनि श्रेष्ठको जस्तै अभिव्यक्ति सार्वजनिक गरेकी छन ।
प्रवक्ता भुषालले शुष्मा स्वराजको नेपाल भ्रमण उपयुक्त नभएको बताएकी छन्। उनले काम चलाउ सरकार रहेको अवस्थामा भएको भारतीय विदेशमन्त्री स्वराजको भ्रमण कुटनीतिक तथा राजनीतिक दुवै रूपमा उपयुक्त नरहेको बताएकी हुन्।
प्रवक्ता भुसालले निर्वाचनपछि नयाँ सरकारसमेत नबनेको अवस्थामा छिमेकबाट उच्चस्तरीय भ्रमण हुनु स्वभाविकै भए पनि राजनीतिक तथा कूटनीतिक रूपमा भने उपयुक्त हुन नसक्ने बताइन्।
बिहीबार नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री स्वराजले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि ‘वान टु वान’ वार्ता गरेकी थिइन्। नयाँ सरकारसँग सहकार्य गरेरअघि बढ्ने सन्देश दिने उद्देश्यका साथ भएको भारतीय विदेशमन्त्री स्वराजको भ्रमण उपयुक्त समयमा नभएको चर्चा चल्दै आएको छ।


