![]()
एजेन्सी,पुस ।
इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले जित हात पारेको छ । बिहीबार राति भएको खेलमा आर्सनलले क्रिष्टल प्यालेसलाई उसैको मैदानमा ३ – २ ले पराजित गरेको हो ।आर्सनललाई जित दिलाउन एलेक्सिस सान्चेजले दुई गोल गरे । त्यस्तै शोकड्रान मुस्ताफीले एक गोल गरे । क्रिष्टल प्यालेसका आन्द्रोस टाउनसेन्ड र जेम्स टमकिन्सले समान एक एक गोल फर्काए ।
क्रिष्टलविरुद्ध संघर्षपूर्ण जित निकाल्ने क्रममा आर्सनलले पहिलो हाफको २५ औं मिनेटमा मुस्ताफीको गोलबाट सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा १ – ० ले पछि रहेको क्रिष्टलले दोस्रो हाफको ४९ औं मिनेटमा टाउनसेन्डको गोलबाट खेल बराबरी गर्यो । तर, दोस्रो हाफमा आर्सनलका सान्चेज चम्किए ।
पाँच मिनेटभित्र सान्चेजले दुई गोल गर्दै आर्सनललाई जित दिलाए । खेलको ६२ औं मिनेटमा सान्चेजले पहिलो गोल गर्दै आर्सनललाई २ – १ को अग्रता दिलाए । त्यसको पाँच मिनेट नबित्दै ६६ औं सान्चेजले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३ – १ को अग्रता दिलाए । खेलको ८९ औं मिनेटमा क्रिस्टलका जेम्सले एक गोल फर्काएपनि आर्सनलले ३ – २ को जित निकाल्यो ।
यो जितसँगै आर्सनलले २० खेलबाट ३७ अंक जोडेको छ । लिगको छैटौं स्थानको आर्सनलले पाँचौ स्थानको टोटनह्यामसँग अंक बराबरी गरेको छ । पराजित क्रिष्टल १८ अंकसहित १६ औं स्थानमा छ ।


