![]()
काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले बिजयको उन्मादमा बामगठवन्धनमा अहम र घमण्ड उत्पन्न हुनेतर्फ सचेत हुन आग्रह गर्नुभएको छ ।
नेकपा एमाले पेशागत जिल्ला कमिटी काठमाडौले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचनमा बामगठबन्धनले अभूतपूर्वसफलता प्राप्त गरेकाले हौसिएर कसैले पनि घमण्ड र अहम प्रदर्शन गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ यो बिजयले हामीमा अहम पैदा हुने हो कि घमण्ड पैदा हुने हो कि त्यतातर्फ हामी सतर्क रहन पर्छ ।’
नेता खनालले माओवादीसंगको पार्टी एकताको एक चरण सफलतापूर्वक सम्पन्न भैसकेकाले दोस्रो चरण पनि चाँडै पूरा हुने दाबी गर्नूभयो । उहाँले भन्नुभयो, ‘ आम निर्वाचनको पूर्व घडिमा एकताको घोषणा गरेका छौं । यो एकताको घोषणाले मुलुकमा ठूलो आशा जगायो । हामी बिजय पनि भयौं । जुन प्रकारको एकताको थालनी भएको छ यसलाई अगाडि बढाएर हामीले एउटै पार्टी बनाउनुको अब अरु कुनै बिकल्प छैन ।’
माओवादीसंग एकताका लागि सैद्धान्तिक, बैचारिक र सांगठानिक केही कुरामा मत भिन्नता भएपनि ती बिषय पनि मिल्दै गएको उहाँको दाबी छ ।
‘‘हाम्रो बिचमा जो अवरोधहरु, मत भिन्नतका पक्षहरु छन, यी करिब करिब समाप्त हुँदै गैरहेका छन । बाँकी मत भिन्नता व्यवस्थापन गर्न सक्ने अवस्थामा छौं । चाहे बैचारिक होस, चाहे सैद्धान्तिक होस,चाहे सगठनात्मक हुन, यी कुराहरुलाई राम्रो ढं्रगले व्यवस्थापन गर्न सकिन्छ । कतिपय कुरा प्रक्रियामार्फत टुंग्याउन सकिने सम्भावना पनि छन ।’’ खनालले भन्नुभयो ।
नेता खनालले पार्टी एकतासंगै सरकार गठनको बिषय पनि अब दु्रत गतिमा अघि बढने र मुलुकलाई आर्थिक प्रगतिको मार्गमा लगिने बिश्वास दिलाउनुभयो । बामगठबन्धन बनेको दिनबाट थुप्रै शक्ति अत्तालिएको बताउँदै नेता खनालले अझैपनि पार्टी एकता हुन नदिने, गठबन्धन टुटाउन खोज्ने प्रयासहरु भैरहेको बताउनुभयो ।
‘‘हामीले जुन प्रकारको बिजय प्राप्त गर्यौं, यो बिजयले कैयौं शक्तिहरु अत्यन्त त्रसित पनि भएका छन, उनीहरुले आफनो भविश्य समाप्त भएको देख्न थालेका छन, आफनो उभिने धरातल भत्किएको देख्न थालेका छन, त्यसो हुनाले पनि हामी बडो सतर्क भएर जानुपर्ने छ । ’’
नेता खनालले सरकार निर्माण र पार्टी एकीकरणका चुनौतीका बिषयमा भन्नुभयो, ‘ अब हामी पार्टी एकीकरण र सरकार निर्माणको अभियानमा लाग्दै छौं । यो अभियानमा लागि रहँदा हाम्रो सामु अनेक चुनौतीहरु पनि छन । यो एकतालाई कसरी टुटाउन सकिन्छ, कसरी फुटाउन सकिन्छ, अविश्वास कसरी जगाउन सकिन्छ, अनेका प्रकारका असमझदारी कसरी बढाउन सकिन्छ, एकथरी शक्ति यो धन्दामा लागेका छन । यी धन्दाहरुबाट पनि हामीले सतर्क हुनुपर्ने छ । ’
बामगठबन्धन वा कम्युनिष्ट पार्टीको एकता र अबको नयाँ सरकारबाट कसैले आत्तिनु नपर्ने उहाँको भनाइ छ । ‘हामी तर्साउनका लागि एकताबद्ध भएका होइनौ, हामी यो राष्ट्रलाई एकताबद्ध बनाउनका लागि, प्रगतितर्फ लैजानको लागि एक भएका हौं । जसरी हामी आज समाजवादको युगमा आएका छौं, यसलाई परिणाममुखी बनाउँछौं । ’ खनालले बताउनुभयो ।
वरिष्ठ नेता खनालले निर्वाचन आयोगले प्रतिनिधि सभातर्फको समानुपातिक मत परिणाम सार्वजनिक नगरेर अन्यौलको बाताबरण सिर्जना गरेको आरोपसमेत लगाउनुभयो ।


