![]()
काठमाडौं । राखेप च्याम्पियनसिप खेलकुद प्रतियोगिता आइतबारबाट सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आयोजना गरेको पहिलो संस्करणको प्रतियोगिताको राष्ट्रपति बिद्या भण्डारीले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसी, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप सदस्यसचिव केशवकुमार बिष्टलगायतको उपस्थिति थियो । कार्यक्रममा प्रतियोगितामा समावेश खेलका खेल संघलाई खेलकुद सामग्री प्रदान गरिएको थियो ।
प्रतियागितामा कुल २९ खेल समावेश गरिएका छन । मौसमको प्रतिकूलताका कारण पौडी र ट्रायथलन भने यसअघि नै सम्पन्न भइसकेका छन् । यस्तै प्राविधिक कारणले कराँते र लनटेनिसको राष्ट्रिय प्रतियोगिता पनि सम्बन्धित संघले आयोजना गरिसकेको छ ।
आसन्न १८ औं एसियाली खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गरिएको हो । पदक विजेता तथा राष्ट्रिय टिममा छनोट भएका खेलाडीलाई माघ १ गतेबाट विशेष प्रशिक्षणमा राखिने छ ।
आगामी माघ ९ गतेसम्म चल्ने च्याम्पियनसिपमा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीको पनि सहभागिता छ । च्याम्पियनसिपमा महिला र पुरुषगरी ४ हजार ४० खेलाडीले ६१५ स्वर्ण, ६१५ रजत र ८९७ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।


