![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पुष्पलाल कम्युनिष्ट आन्दोलनका साझा नेता भएको बताउनु भएको छ ।
पुष्पलाल स्मृति प्रतिष्ठानको पाँचौँ साधारणसभाको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री खनालले पुष्पलालको सपनालाई साकार पार्न सम्पूर्ण वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो । खनालले भन्नुभयो, “कम्युनिष्ट सिद्धान्तलाई अवलम्बन गर्ने सबै वामपन्थी शक्तिलाई एकताबद्ध गर्न हामी लागिपरेका छौँ ।”

प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी र नेकपा (माओवादी केन्द्र) बीच छिट्टै एकता हुने र त्यसपछि अन्य वाम दललाई पनि समाहित गरिने जानकारी दिनुभयो ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको नाममा स्थापित पुष्पलाल स्मृति प्रतिष्ठानको पाँचौँ साधारणसभाले माधव कुमार नेपालको अध्यक्षतामा ३१ सदस्यीय नेतृत्व चयन गरेको छ ।


आगामी तीन वर्षका लागि चयन भएको कार्य समितिमा बरिष्ठ उपाध्यक्ष लक्ष्मीभक्त उपाध्याय, उपाध्यक्ष बेदुराम भुसाल, लोककृष्ण भट्टराई, विजयलाल श्रेष्ठ, महासचिव गंगालाल तुलाधर, सचिव विष्णु रिजाल, कोषाध्यक्ष मोहनबहादुर केसी र सदस्यहरुमा अलिअख्तर मिकरानी, उमेशलाल श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गणेश पण्डित, गायत्री आचार्य नेपाल, नागेन्द्र चौधरी, बटुकृष्ण थापा, बद्री बुढाथोकी, भानुभक्त ढकाल, रघुजी पन्त, रत्न महर्जन, सानुकुमार श्रेष्ठ, सावित्री भट्टराई, सुरेश कार्की र हिरण्यालाल श्रेष्ठ चयन हुनुभएको छ । बाँकी सदस्य कार्यसमितिले चयन गर्नेछ ।
साधारणसभाले तत्कालीन सचिव गंगालाल तुलाधरले प्रस्तुत गरेको कार्ययोजना र कोषाध्यक्ष मोहन केसीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा हालै सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा विजयीबन्नु भएका प्रतिष्ठानका संरक्षक झलनाथ खनाल (इलाम १), अध्यक्ष माधवकुमार नेपाल (काठमाडौं २) र सदस्य कृष्णगोपाल श्रेष्ठ (काठमाडौं ९) तथा प्रदेशसभा सदस्य निर्वा्चित सदस्य सानुकुमार श्रेष्ठ (काठमाडौं २(१) लाई बधाई ज्ञापन गरिएको थियो ।


