![]()
एजेन्सी । अष्ट्रेलियाले ५ खेलको एसेज सिरिज टेष्ट क्रिकेट ३–० ले कब्जा गरेको छ । तेस्रो टेष्ट क्रिकेट खेलमा अष्ट्रेलियाले एकै इनिङ्समा इंग्ल्याण्डलाई ४१ रनले पराजित गर्दै २ खेल खेल्नुअघि नै सिरिज आफ्नो पक्षमा पारेको हो ।
पाहुना टोली इंग्ल्याण्डले अष्ट्रेलियासँग तेस्रो टेष्टमा पनि नराम्रो हार ब्यहोर्न पुग्यो । अन्तिम दिन ४ विकेटको क्षतिमा १३२ रनदेखि नै आफ्नो इनिङ्स थालेको इंग्ल्याण्डको आफ्नो विकेट पतन नरोकिएपछि हार ब्यहोरको हो । इंग्ल्याण्डका लागि इंग्ल्याण्डका लागि जेम्स भिन्सले ५५ र डविड मलनले ५४ रन बनाएपनि अन्य खेलाडीले उच्च स्कोर बनाउन सकेनन् । इंग्ल्याण्डका खेलाडीलाई सस्तैमा अलआउट गर्न जोस हज्लेवोडले ५ विकेट लिए ।
अष्ट्रेलियाले आफ्नो पहिलो इनिङ्समा ९ विकेटको क्षतिमा ६६२ रनको विशाल स्कोर बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको थियो । अष्ट्रेलियाका लागि कप्तान स्टेभन स्मिथले दोहोरो शतक प्रहार गरेका थिए । अष्ट्रेलियाका अर्का खेलाडी मिचेल मार्सले पनि शतक प्रहार गरेका थिए । उनले १८१ रनको योगदान दिएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले आफ्नो पहिलो इनिङ्समा ४०३ रन बनाएको थियो । इंग्ल्याण्डका लागि दुई खेलाडीले शतक प्रहार गरेका थिए । डविड मलनले १४० रन बनाएका थिए । त्यस्तै, जोन्नी बैस्र्टौले ११९ रन बनाएका थिए । बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्कले ४ विकेट लिएका थिए ।
यसअघि भएको पहिलो टेष्ट क्रिकेटमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई १० विकेटले पराजित गरेको थियो । त्यस्तै, दोस्रो टेष्टमा भने अष्ट्रेलियाले १२० रनले इंग्ल्याण्डलाई पराजित गरेको थियो । अब एसेज सिरिजको चौथो टेष्ट क्रिकेट २६ डिसेम्बरदेखि सुरु हुनेछ ।


