![]()
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नछाड्ने स्पष्ट पार्नुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले सोमबार गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले चुनावी सरकारले सबै किसिमका चुनाव सम्पन्न गरेपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताउनुभयो । स्थानीय तह, प्रदेश र प्रतिनिधिशभाको निर्वाचन भएपनि राष्ट्रिय सभाको निर्वाचन गर्न बाँकी रहेकाले त्यो काम पनि यही सरकारले पूरा गर्ने उहाँले बताउनुभयो । मन्त्री थापाले भन्नुभयो, “देउवाले मलाई धेरै दबाब आयो भनेर पद छोड्छु भन्न पाउनुहुन्न, ओली र प्रचण्डलाई पनि आउँछु भन्ने छुट छैन ।”
राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि भने आफूहरु सरकार छोड्न तयार रहेको उहाँले बताउनुभयो । ओली र प्रचण्डले अहिल्यै नै कुर्सी छोड भनेर देउवाको राजिनामा माग्नु दम्भ र उत्तेजनाको अभिव्यक्ति भएको उहाँको आरोप छ ।
सरकारले दुई महिना अघि नै राष्ट्रिय सभा सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाएकोमा अहिलेसम्म स्वीकृत नहुनु दुःखद भएको उहाँले बताउनुभयो ।


