![]()
काठमाडौं । सरकारले स्वदेशी लगानीमा निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको आयोजना बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको लागि आवश्यक वित्तिय स्रोत जुटाएको छ ।
लगानीको खाकार तयार पार्न गठित समितिले आयोजना निर्माणका लागि आवश्यक वित्तिय स्रोतको खाकासहितको प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । स्वदेशी लगानीमै आयोजना सम्पन्न गर्न वित्तिय स्रोतको खाका तयार पारिएको हो ।
आयोजना निर्माणका लागि एक वर्ष भित्रै करिव २ सय ७० देखि ३ सय ६७ अरव लगानी गर्न सक्ने क्षेत्रहरुको पहिचान गरिएको छ ।
समितिले आयोजना निर्माणका लागि लगानी गर्न कार्वन टयाक्सलाई मुख्य स्रोतको रुपमा लिएको छ । त्यसैगरी नेपाल विद्युत प्राधिकरण, कर्मचारी संचय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, राष्ट्रिय विमा संस्थान तथा अन्य विमा कम्पनीहरु, जलविद्युत लगानी तथा विकास कम्पनी, नेपाली सेना र नेपाल प्रहरीको कल्याणकारी कोषसमेत यो आयोजना निर्माणका लागि लगानी गर्न सक्षम रहेको प्रतिवेदनमा उल्लेख छ ।
१२ सय मेघावाटको बुढिगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने पुष्पकमल दाहाल नेतृत्वको सरकारको निर्णय खारेज गरेपछि बर्तमान सरकारले स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको थियो ।


