![]()
एजेन्सी,पौष ।
नेइमारले पेरिस सेन्ट–जर्मेन (पिएसजी) को टिममा सुन्दर दुई गोलसहित प्रभावशाली पुनरागमन गरेका छन् । फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले रेनलाई ४–१ ले हराउने क्रममा नेइमारले दुई गोल गरेका हुन् । नेइमार गएको हप्ता लिलीसँगको खेलमा प्रतिबन्धका कारण मैदान बाहिर थिए भने यो हप्ताको बिचमा भएको लिग कप खेलमा व्यक्तिगत कारणले ब्राजिल जानु परेकाले खेल्न पाएका थिएनन् ।
तर उनले पिएसजीको टिममा दुई खेलपछि फर्किँदा दुई गोल नै गरेका हुन् । लिग वान अन्तर्गत रेनसँगको खेलमा १४ औं मिनेटमा नेइमारले गरेको गोलबाट नै पिएसजीले सुरुवाति अग्रता लिएको हो । १७ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै अग्रता दोब्बर पारे । ५३ औं मिनेटमा रेनका लागि मुबेलेले गोल गरे । ६३ औं मिनेटमा एन्ड्रे दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रेन १० खेलाडीमा सीमित भयो । एडिसन काभानीले ७५ औं मिनेटमा पिएसजीका लागि तेस्रो गोल गरे । त्यसको एक मिनेटपछि नेइमारले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई ४–१ को जित निश्चित गर्यो ।
८९ औं मिनेटमा किमपेम्बे दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पिएसजी पनि १० खेलाडीमा सीमित भएको थियो । जितपछि लिडर पिएसजीको १८ खेलबाट ४७ अंक भएको छ । दोस्रो स्थानको मोनाकोको ३८ अंक छ ।


