![]()
काठमाडौ,मंसिर ।
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम तथा सातौं चरणको पहिलो खेलमा नेपालले आज युनाइटेड अरब इमिरेट्स (युएई) को सामना गर्दैछ । नेपाल र युएईबीचको खेल शिख जायद क्रिकेट रंगशालामा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
घरेलु टोली युएईसँग २ खेल खेल्ने नेपाली क्रिकेट टोली गत बुधबार नै युएई पुगिसकेको छ । यस्तै नेपाली टोलीले त्यहाँ दुई अभ्यास खेल समेत खेलेको छ । केन्या र अमेरिकाविरुद्धको दुई अभ्यास खेल नेपालले जितेको थियो । त्यसपछि नेपालले शुक्रबार घरेलु टोलीविरुद्ध दोस्रो खेल खेल्नेछ ।
च्याम्पियनसिपबाट डिभिजन टु मा घटुवा भइसकेको नेपाल र युएईबीचको खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हुने छ । गत महिना भएको छैटौं चरणको खेलमा हङकङ एक खेलमा हार र अर्को खेलमा अंक बाडेपछि नेपाल डिभिजन टु मा झरेको थियो । च्याम्पियनसिपबाट दुवै टोली विश्वकप छनोटमा समेत पुग्न असफल भएपछि यो खेल प्रतिष्ठाको लागि मात्र हुनेछ ।
अब नेपाल र युएईले डिभिजन टु बाट विश्वकप छनोटमा पुग्ने मौका भने पाउनेछन । डिभिजन टु को शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउने प्रावधान रहेको छ । डिभिजन टु सन् २०१८ को फेब्रुअरीमा नामिबियामा हुनेछ ।
च्याम्पियनसिपमा नेपाल छैटौं स्थानमा छ भने युएई पुछारमा रहेको छ । नेपालको १२ खेलबाट ९ अंक रहेको छ । युएईको समान खेलबाट ६ अंक छ । च्याम्पियनसिपमा शिर्ष दुई स्थानमा रहेका नेदरल्याण्ड र पपुवा न्युगिनी विश्वकप छनोटमा पुगिसकेको छ । अब दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउने छन् । तालिकाको तेस्रो स्थानमा स्कटल्याण्ड, चौथोमा र पाँचौमा केन्या रहेका छन् ।


