Breaking News.... EverestOnlineKhabar
April 22, 2026

बमविस्फोटका घटना निष्तेज पार्न असफल,कहाँ चुक्यो सुरक्षा रणनीति….?

Loading

काठमाडौ,मंसिर ।
काठमाडौ उपत्यका लगायत मुलुकभरको सुरक्षा व्यवस्था कडा बनाएको सरकारले दाबी गरे पनि शृंखलाबद्ध विस्फोट नरोकिएपछि सुरक्षा प्रणालीमै गम्भीर प्रश्न उब्जिएको छ । शुक्रबारयताका ४ दिनमा मात्रै राजधानीमा झन्डै एक दर्जन विस्फोट भएका छन् । कडा सुरक्षा जाँचबीच कहाँबाट विस्फोटक पदार्थ भित्रिरहेको छ भन्ने प्रश्नसमेत टड्कारो भएको छ । कमजोर गुप्तचर संयन्त्रका कारण घटनाअगावै सूचना नपाउँदा प्रहरीले आवश्यक रणनीति बनाउन नसकेको एक उच्च प्रहरी अधिकारी दाबी गर्छन् । गृह मन्त्रालयमा शनिबार बसेको केन्द्रीय कमान्ड पोस्टको बैठकमा पनि गुप्तचर संयन्त्र कमजोर भएको विषय उठेको थियो ।
एक उच्च अधिकारीले भनेः‘प्रहरीमा गतिलो र गम्भीर सूचनाको अभाव त छ नै, सतही रूपमा प्राप्त सूचनामा भर पर्ने र त्यस्तो सूचना पाउनेबित्तिकै आधिकारिकता पुष्टि नगरी उच्च राजनीतिक नेतृत्वमा रहेकाहरूमा जाहेर गरेर साखुल्ले बन्न खोज्ने प्रवृत्ति पनि छ,यसले पनि सुरक्षा चुनौतीलाई सही रूपमा सम्बोधन गर्नबाट रोकेको छ ।’
सुरक्षा निकायहरूबीचको कमजोर समन्वय र अस्पष्ट सरकारी निर्देशनले पनि निर्वाचन सुरक्षा कमजोर बनेको छ । पहिलो चरणको निर्वाचन अवधिभर धेरै सुरक्षाकर्मी उपत्यकाबाहिर खटाइँदा पनि राजधानीको सुरक्षा व्यवस्था कमजोर देखिएको हो । पहिलो चरणको निर्वाचनलगत्तै काठमाडौंमा उच्च सुरक्षा सतर्कता नबढाइएकाले नेकपा (विप्लव) समूहले त्यसैको फाइदा उठाएको प्रहरी अधिकारी बताउँछन् ।
राजधानी भित्रिने नाकामा कडा सुरक्षा जाँच र उपत्यकामा विप्लव समूहमाथि कडा निगरानी बढाइँदा पनि एकपछि अर्को विस्फोटका घटना कसरी सम्भव भयो त ? राजधानीमा विस्फोट गराउन प्रयोग भएका विस्फोटक पदार्थ पहिलेदेखि नै काठमाडौंमा जम्मा गरिएको प्रहरी स्रोतको दाबी छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार आइतबार राति मात्रै उपत्यकाका १८१ स्थानमा सुरक्षा जाँच र खानतलासी गरिएको थियो । काठमाडौंका ११४, ललितपुरका ३९ र भक्तपुरका २८ स्थानमा आइतबार साँझदेखि सोमबार बिहानसम्म दुई चरणमा खानतलासी गरिएको थियो । प्रहरीले काठमाडौं उपत्यका भित्रिने मुख्य नाका जगाती, फर्पिङ, नागढुंगा, जर्सिङपौवा, टोखा, मुड्खु, भैंसेपाटीलगायत सबै नाकामा जाँचपडताल कडा पारेको छ ।
प्रहरीको जाँच र खानतलासी प्रभावकारी नहुनाले पनि सुरक्षा स्थिति कमजोर बनेको पूर्वडीआईजी केशव अधिकारी बताउँछन् । उनका अनुसार प्रविधिबिना हातैले गरिने छामछुमबाट केही हात नपर्ने उनको भनाइ छ । उपत्यकामा करिब ९ लाख हाराहारी सवारीसाधन रहेको र त्यति धेरै सवारीको जाँच प्रविधिबिना प्रहरीले मात्र गर्नै नसक्ने उनको तर्क छ ।
प्रहरी स्रोतका अनुसार विप्लव समूहमाथि प्रहरीको निगरानी बढेपछि उसले पछिल्ला दिनमा भाडाका अपराधी प्रयोग गरेर विस्फोट गराइरहेको छ । तर भाडाका मान्छे को हुन् र तिनीहरू कसरी परिचालित भइरहेछन् भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन । विप्लव समूहलाई हेर्ने प्रस्ट दृष्टिकोण नहुनाले पनि प्रहरीले उच्च मनोबलका साथ काम गर्न सकिरहेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed