Breaking News.... EverestOnlineKhabar
April 22, 2026

मौन अवधि उल्लंघन गरे उम्मेदवारी खारेजसम्मको सजायःनिर्वाचन आयोग

Loading

काठमाडौ,मंसिर ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दोस्रो चरणका लागि दल र उम्मेदवारले प्रचार तथा भोट माग्ने काम मंगलबारदेखि गर्न पाउने छैनन् । मतदान हुनु ४८ घण्टापूर्व नै मौन अवधि सुरु हुने भएकाले कुनै प्रकारको प्रचारप्रसार गर्न पाइने छैन । मतदान मंसिर २१ गते बिहीबार हुँदैछ । निर्वाचन आयोगले मौन अवधिमा प्रचार तथा आचारसंहित विपरीतका काम गरेको भेटिएमा उम्मेदवारी खारेजसमेत हुन सक्ने चेतावनी दिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता सह–सचिव नवराज ढकालले भनेः‘निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा कुनै प्रकारले मतदातालाई प्रभावित पार्ने काम हुनुहुँदैन, यो समय मतदाताको हो, यस अवधिमा मतदाताले उम्मेदवारबारे अध्ययन गर्ने तथा मतदान कसलाई गर्ने भन्ने निर्णय लिने बेला हो ।’
प्रत्यक्ष प्रचार गर्न नपाए पनि यस अवधिमा राजनीतिक दल तथा उम्मेदवारले अनौपचारिक भेटघाट, घरदैलो, भोजभतेर तथा आर्थिक चलखेललगायत क्रियाकलाप गरी मतदाता प्रभावित पार्ने काम गरेको पाइन्छ । प्रवक्ता ढाकालले भनेः‘आचारसंहिता विपरीतका क्रियाकलाप देखिए अनुगमनकर्ताले कारबाही गर्न सक्छन्, पैसा बाँडेको प्रमाण भेटिए उम्मेदवारीसमेत खारेज हुन सक्छ ।’
राजनीतिक दल वा उम्मेदवारले मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखेका प्रचार सामग्रीसमेत हटाउनुपर्ने उनले बताए ।‘सामाजिक सञ्जालबाट समेत मौन अवधिमा भोट माग्न पाइन्न, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार गर्न हुन्न,सञ्चार माध्यमले पनि मौन अवधिमा राजनीतिक दलको प्रचार हुने गरी समाचार प्रकाशन वा प्रसारण गर्नु हुँदैन ।’ यसअघि पहिलो चरणको मौन अवधिमा सामाजिक सञ्जालमार्फत प्रचार गरेको आरोपमा आयोगले केही नेतासँग स्पष्टीकरण सोधेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed