![]()
सिरहा । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू पुनः प्रधानमन्त्री हुने र त्यसपछि मधेशका समस्या समाधान गर्ने बताउनु भएको छ ।
सिरहाको भगवानपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले अबको निर्वाचनमा काँग्रेसले जितेर आफू नै फेरि देशको प्रधानमन्त्री बन्ने दाबी गर्नुभएको हो । उहाँले आफू फेरि देशको प्रधानमन्त्री बनेर मधेस र मधेसी जनताको समस्या समाधान गर्ने धारणा राख्नुभयो ।
‘चुनाव काँग्रेसले जित्छ र पाँच वर्षका लागि म प्रधानमन्त्री हुन्छु । प्रधानमन्त्री भएपछि मधेसको समस्या हल गर्छु ।’ प्रधानमन्त्री देउवाले भन्नुभयो ।
प्रधानमन्त्री देउवाले काँग्रेसले मधेसी जनतालाई अधिकार सम्पन्न बनाउन संविधान संशोधनको प्रस्ताव ल्याउन खोज्दा नेकपा एमालेले रोकेको आरोप उहाँले लगाउनुभयो । उहाँले भन्नुभयो, ‘एमाले मधेस विरोधी पार्टी हो । त्यसलाई रोक्न काँग्रेसलाई जिताउन आवश्यक छ । ’
बाम गठबन्धनबाट जनता आतंकित बनेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुको एक दलिय तानाशाही शासनमा लेख्न, बोल्न र सम्पत्ति राख्न पाउने अधिकार नहुने उल्लेख गर्नुभयो ।


