![]()
काठमाडौं । भारतमा तमामौ गुरु यौन शोषणको आरोपमा जेल परेका छन । उनीहरुमाथिको आरोप पुष्टि पनि भएको छ । अब यस्ता कुराका लागि भारतको उदाहरण दिइरहनु पर्दैन । नेपालमै पनि गुरुको भेषमा महिलाहरुको यौन शोषण गर्नेहरुको पोल खुल्न सुरु भएको छ ।
काठमाडौं दक्षिणकाली नगरपालिका १ चाल्नाखेलमा पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्वा छ । १० वर्षअघि आफूलाई गुरु रिम्पोछे छुल्ठिम दोर्जे योन्जन बताउने ५६ वर्षीय टुल्कु लामाले सो गुम्बा बनाएका हुन् । सो गुम्बामा रोग निको हुन्छ भनेर जाने महिलाहरुको संख्या पनि बाक्लै हुन्छ ।
त्यही गुम्बामा सिआइबीले छापा मारेर लामालाई पक्राउ गरेको छ । लामामाथि धार्मिक आवरणमा महिलाहरुलाई यौनशोषण गरेको आरोप लागेको छ ।
उपचार गराउन त्यहाँ पुगेका महिलाहरुलाई कोठामा लगेर निर्वस्त्र बनाउने, जर्वजस्ती शारीरिक सम्बन्ध राख्ने जानकारी पाएपछि लामालाई पक्राउ गरिएको सिआइबीका निर्देशक पुष्कर कार्कीले बताए ।
धर्मको आडमा महिलालाई आफू अवतारी लामा भएको भन्दै उनले महिलाहरुलाई यौनशोषण गर्ने गरेको कार्कीको दावी छ । प्रहरीका अनुसार लामाले जुनसुकै रोग पनि निको पार्ने दाबी गर्दै गुम्बामा रहेका र बाहिरबाट उपचार गर्न जानेहरुलाई आफूसँग दैवी शक्ति छ भन्ने भ्रममा पार्दै आएका थिए ।
महिलालाई यौनशोषण गरेपछि लामाले कसैलाई भने ठूलो क्षति हुने चेतावनी दिने गरेको पीडित महिलाहरुले बताएका छन् । अरुलाई भने ठूलो क्षति हुन्छ, रोग पुनः बल्झिन्छ, आफूसँग मात्रै यौनसम्पर्क राख्नुपर्ने लामाले माहिलाहरुलाई बताउँदै आएका थिए ।
गुरु ३३ कोटी देउताको अवतार भएको, गुरु रिसाए अनिष्ठ हुने बताएपछि ती महिलाहरुले आफन्त र पीडित कसैलाई शोषित भयौं भनेर भन्न सकेका थिएनन् ।
प्रहरीका अनुसार लामाले विवाह नभएका युवतीहरुलाई अरुसँग विवाह गर्न नदिने, गर्न परे उनको अनुमति लिनुपर्ने र नमाने आफूसँग भएको यौनसम्बन्धबारे सबैलाई भनिदिने धम्की दिन्थे ।
उपचारका गर्न त्यहाँ पुगेकी एक विवाहित महिलालाई लामाले सो सँग बसिरहे रोग निको नहुने र रोग निको पार्न आफूसँग मात्रै सुत्नुपर्ने बताएका थिए । पछि ती महिलालाई उनको श्रीमानसँग लामाले सम्बन्ध विच्छेद गराइदिएका थिए । कतिपयको नग्न तस्बिर लामाले सामाजिक संजालहरुमा समेत पोष्ट गरिदिएको प्रहरीले जनाएको छ ।
सिआइबीको टोली गुम्बा पुग्दा त्यहाँ रहेका केही महिलाहरुले प्रहरीमाथि रोक लगाउने प्रयास गरेका थिए । सो गुम्बामा अझै दर्जनौं युवती र महिलाहरु छन् ।
लामामाथि प्रहरीले जर्बजस्ती करणी र विद्युतीय कारोबार ऐनको मुद्दामा म्याद थप गरि अनुसन्धान अघि बढाएको छ । उपत्यकामा अन्य गुम्बाहरुमा पनि यस्तै प्रकारका गतिविधि भए नभएकोबारे सिआइबीले सुक्ष्म रुपमा अध्ययन गर्ने भएको छ ।


