![]()
गोरखा । पूर्व प्रधानमन्त्री एवम नयाँ शक्तिका नेता तथा गोरखा २ बाट प्रतिनीधिसभाका उम्मेदवार डा.बाबुराम भट्टराईले एमाले र माओवादी पार्टी कम्युनिष्ट पार्टी नभएको टिप्पणी गर्नुभएको छ ।
गोरखाको बतासेमा चुनावी सभालाई सम्बोधन गर्दै नेता भट्टराईले एमाले र माओवादी नेताहरुको कार्यशैली र व्यवहारले उनीहरु कम्युनिष्ट हुनै नसक्ने तर्क गर्नुुभयो ।
केही दिन अघि एमाले अध्यक्ष केपी ओलीले आफूलार्ई निशाना बनाइ गरेको भाषण स्मरण गर्दै नेता भट्टराईले ओली र प्रचण्ड एउटा बंचरो बराबर पनि नभएको जवाफ फर्काउनुभयो । भट्टराईले भन्नुभयो, ‘ उहाँहरुले मलाई कर्कलो भन्नुभयो । दुई जना आउदा पनि भएन भनेपछि उहाँहरु एक बंचरो बराबर पनि हुनुभएन ।’
‘मलाई केही साथीहरूले अस्थीर भन्नुभएछ । हिजो राजतन्त्रका विरुद्ध म अडिग रहँदा राजतन्त्र गयो । अब देशको विकास र समृद्धिका लागि नरक जान परे पनि तयार छु । देशको विकास र समृद्धिका लागि म गतिशील भएको हो अस्थीर हैन ।’ भट्टराईले भन्नुभयो ।
माओवादी अध्यक्ष दाहालप्रति निकै आक्रोशित देखिनु भएका भट्टराईले भन्नुभयो,– ‘काँग्रेससँगको सहकार्यलाई प्रतिक्रान्ति, अवसरवाद भन्नुभएछ, यदी यसो हो भने हिजो काँग्रेससँग मिलेर भरतपुरमा अनेक हतकण्डा अपनाएर छोरी जिताउनु के हो ? काँग्रेससँग मिलेर सरकार बनाउनु के हो ? लाज पचाएर विनाविभागीय मन्त्री भएर तलब भत्ता खानु के हो ? नेपाली काँग्रेससँगको सहकार्य देशको विकास र समृद्धिका लागि हो । यसको रणनीतिक महत्व र उद्देश्य छ ।’


