![]()
बिबिसि । अफ्रिकाको प्रमुख क्षेत्रीय संगठन अफ्रिकी संघले जिम्बाब्वेमा सेनाले शक्ति हातमा लिएको र राष्ट्रपति रोबर्ट मुगाबेलाई नजरबन्दमा राखेको घटना ’कु जस्तो देखिएको’ बताएको छ ।
संघका प्रमुख अल्फा कोन्डेले अफ्रिकी संघले जिम्बाब्वेलाई पुनः संवैधानिक प्रक्रियामा फर्कन माग गरेको छन् । सत्ता हातमा लिएको अस्वीकार गर्दै जिम्बाब्वेको सेनाले राष्ट्रपति रोबर्ट मुगाबे सुरक्षित रहेको र उनी वरपर रहेका अपराधीविरुद्ध आफूले कारवाही गरिरहेको जनाएको छ । मुगाबेको उत्तराधिकारी को हुने भन्ने शक्ति संघर्षका माझ सेनाले उक्त कदम चालेको हो ।
जिम्बाब्वेमा सेनाले शक्ति हातमा लिएको जस्तो देखिने घटनाको त्यहाँका धेरै नागरिकले अनिच्छासहित स्वागत गरेका छन् । उच्च सैनिक अधिकारीहरुलाई विश्वासमा नलिइ अघिल्लो हप्ता उपराष्ट्रपति एमरसन मनाङग्याग्वालाई पदबाट बर्खास्त गरिएको थियो भने राष्ट्रपति पत्नी ग्रेसलाई सम्भावित उत्तराधिकारीको रुपमा प्रस्तुत गरिएको थियो ।
गम्भीर खालका हिंसाको केही खबरहरु आएका छैनन् तर राष्ट्रपति मुगाबेलाई उनकै घरमा नजरबन्द गरिएको छ भने केही मन्त्रीहरुलाई थुनामा राखिएको छ ।
उता सत्तारुढ जानु पीएफ पार्टीका कतिपय प्रभावशाली सदस्यहरुले भने पूर्व विद्रोही नेताले आफ्नो परिवारलाई राजनीतिमा स्थापित गर्न खोज्दा यो अवस्था आएको प्रतिक्रिया दिएका छन् ।


