![]()
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र चीनको प्रतिष्ठित थ्री गर्जेज कम्पनीबीच पश्चिम सेती जलविद्युत् आयोजनामा संयुक्त लगानी गर्ने विषयको द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र थ्री गर्जेजका प्रतिनिधिले हस्ताक्षर गरेका छन । प्रारम्भिक सम्झौता भएको दश महिनापछि संयुक्त लगानी गर्ने र संयुक्त कम्पनी स्थापना गर्ने विषयमा समझदारी भएको हो । गत माघ ३ गते यसबारे प्रारम्भिक सम्झौता भएको थियो ।
लगानी बोर्डले अगाडि बढाएको सो आयोजनाको समझदारीपत्रअनुसार निर्माण प्रक्रिया सुरु गर्न प्राधिकरण र थ्री गर्जेजबीच संयुक्त लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुपर्ने प्रावधान रहेको छ ।
सम्झौताअनुसार आयोजनामा कुल ७५ प्रतिशत चिनियाँ कम्पनी र २५ प्रतिशत प्राधिकरणको लगानी रहनेछ । विसं २०६८ मा उक्त कम्पनीसँग पश्चिम सेती निर्माणसम्बन्धी सम्झौता भएको थियो । कम्पनीको प्राविधिक टोलीले आयोजना स्थलको भौगर्भिक अध्ययन गरिसकेको छ ।
आयोजनाका कारण डोटी, बैतडी, बझाङ र डडेलधुरा प्रभावित हुने देखिएको छ । आयोजना बन्ला भन्दै लामो समयदेखि प्रतिक्षामा रहेका ती जिल्लाका प्रभावित जनताले सामान्य विकास निर्माणको कामसमेत गर्न पाएका छैनन् ।
आयोजनाको लागत करिब एक खर्ब ६० अर्ब हुने बताइएको छ ।


