![]()
काठमाडौं । सरकारले प्रहरी संगठनमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी पुनः थप गरेपछि, प्रहरी संगठन भित्र गुटबन्दी र राजनीति मौलाउन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।
चार एआइजी बढुवाका क्रममा यसै साता मन्त्रिपरिषद्ले दुईवटा दरबन्दी श्रृजना गरेपछि नेपाल प्रहरीमा अब प्राविधिकसहित १६ जना एआइजीको पद कायम भएको छ । पछिल्ला वर्षहरुमा प्रहरीभित्रको बढुवा प्रक्रियामा चरम राजनीतिक हस्तक्षेप हुने गरेको भन्दै संगठन माथि प्रश्न उठिरहेको बेला यो निर्णय आएको हो ।
प्रहरी संगठनको आवश्यकतालाई ध्यान दिएर लिइएको निर्णय भन्दै गृह मन्त्रालयले आफ्नो बचाउ गरेको छ । दुईवटा एआइजीको पद थप्ने गृह मन्त्रालयको निर्णयमा प्रहरी संगठन आवद्ध कतिपयले नै असन्तोष पोखेका छन् । पूर्व एआइजी बिज्ञानराज शर्माका अनुसार एकजना प्रहरी निरिक्षकको मातहत तीन वा चारजना भन्दा बढी एआइजी राख्नु विकृति हो ।
उच्त तहमा पदहरु झन् झन् पातलिंदै जाने ’पिरामिड शैली’को प्रहरी संगठनमा माथिल्लो तहमा थुप्रै शक्तिशाली अधिकारी रहँदा त्यसले संगठनको सन्तुलनमा असर पर्ने उनको भनाइ छ । शर्माले भने, “पिरामिड शैलीको प्रहरी संगठनमा माथिल्लो तहमा नै यस्तो प्रतिस्पर्धा हुन थाल्यो भने यसले संगठन भित्र एउटा अस्वस्थ प्रतिस्पर्धा हुने, एउटाले अर्कोको कुरा काट्ने, प्रहरी प्रमुख हटाउने खेलहरु बढ्दै जानेछ । एकजना प्रहरी निरिक्षकको मातहत तीन वा चारजना भन्दा बढी एआइजी राख्नु विकृति हो ।“
चार महिना अगाडि मात्र माओवादी नेता जनार्दन शर्मा गृहमन्त्री भएको बेला ७ जना रहेको एआइजी पदमा चार दरबन्दी थप गरिएको थियो । सरकार परिवर्तन भइरहेको बेला एआइजीहरुको दरबन्दी थप भएको यो पाँचौपटक हो । गृह मन्त्रालयले भने बढुवालाई संगठनको आवश्यकता भनि बचाउ गरेको छ ।
नेपाल प्रहरीलाई आधुनिकीकरण गर्ने सन्दर्भ र संघीयता कार्यान्वयन गर्न भूमिका खेल्ने उद्देश्यका साथ यो दरबन्दी थप गरिएको हो गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा बताउँछन । उनले भने, “नेपाल प्रहरीलाई आधुनिकीकरण गर्ने सन्दर्भ र संघीयता कार्यान्वयन गर्न भूमिका खेल्ने उद्देश्यका साथ यो दरबन्दी गरिएको हो । “
प्रहरीमा एआइजीको संख्या एकजना प्राविधिकसहित १६ जना पुगेको छ ।


