![]()
एजेन्सी,३० कार्तिक ।
रियल मड्रिडका मिडफिल्डर कासिमिरोले ब्राजिलियन टिममेट नेयमारलाई रियल मड्रिडबाट खेलेको हेर्न चाहेको बताएका छन् । इंग्ल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लण्डन पुगेका कासिमिरोले इंग्लिश मिडियासँग नेयमार स्टार भएको र उनलाई रियलमा स्वागत गर्न आतुर रहेको बताएका हुन् ।
आगामी बर्ष रुसमा हुने विश्वकपको तयारी गरिरहेको ब्राजिलले मंगलबार इंग्ल्यान्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो । खेलपछि ब्राजिलियन कासिमिरोले गोलडटकमसंग भनेः‘ नेयमार स्टार हुन् , उनी एक महान खेलाडी हुन् । उनलाई रियल मड्रिड स्वागत गर्न तयार छ ।’
ब्राजिलियन फरवार्ड नेयमार यसै सिजन स्पेनिस क्लब बार्सिलोनाबाट फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका हुन् । विश्वका सर्वाधिक महंगा खेलाडी बनेका नेयमारको लागि पिएसजीले कीर्तिमानी मूल्य १८९ मिलियन पाउण्डमा किनेका हुन् । उनले पिएसजीबाट यो सिजन १२ खेल खेल्दै ११ गोल गरिसकेका छन् ।
पछिल्लो समय भने नेयमार पिएसजीमा खुसी नरहेको र प्रशिक्षकसँग समेत राम्रो सम्बन्ध नरहेको समाचारहरुसमेत बाहिर आइरहेको छ । तर, कासिमिरोले नेयमार रियल मड्रिड आए उनी खुशी रहन सक्ने बताए । कासिमिरोले भनेः‘मलाई आशा छ नेयमार रियल मड्रिड आउनेछन् । र, उनी यो क्लबमा निकै खुशी हुनेछन् ।’


