![]()
एजेन्सी । मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा जित नजिक पुगेरपनि नेपाल हार्नु परेको छ । अन्तिम ओभरमा १० रन रोक्न नसक्दा नेपाल हार स्वीकार गर्न बाध्य भयो ।
कोलालाम्पुरस्थित किनरारा ओभलमा नेपालले दिएको १८१ रनको लक्ष्य बंगलादेशले ३९ ओभर ५ बलमा ८ विकेट गुमाएर पुरा गर्यो । बंगलादेशको जितमा महमद नईम शेखले ५२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै अफीफ हुसेन ध्रुबोले ३३ रन बनाउदा पिनाक घोषले २४ रन बनाए । महिदुल इस्लामले २३ रन जोडे । नेपालका सन्दिप लामिछाने र कमल सिंह ऐरीले समान २ – २ विकेट लिए भने अनिल कुमार साह, दीपेन्द्र सिंह ऐरी र किशोर महतोले समान एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले ४० ओभर १ बलमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो । तर, नेपालले ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएपछि डकवर्थ लुइस (डिएल) पद्दतिको आधारमा बंगलादेशले ४० ओभरमा १८१ रनको नयाँ लक्ष्य पाएको थियो ।
बर्षाका कारण नै ढिला सुरु हुँदा खेल ४० ओभरमा झारिएको थियो । बंगलादेशविरुद्ध नेपालका भिम सार्कीले ४४ तथा रोहित कुमार पौडेलले ४० रन बनाए । त्यस्तै आसिफ शेखले ३०, अनिल कुमार साह १९ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले १२ रन जोडे । बंगलादेशका नईम हसनले ३ विकेट लिए ।
हारसँगै नेपालको दोस्रो चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ । कठिन मानिएको समूह समूह ‘ए’ मा रहेको नेपालले अब दोस्रो खेलमा आइतबार अर्को टेष्ट राष्ट्र भारतको सामना गर्ने छ । त्यस्तै नेपालले अन्तिम खेलमा मलेसियासँग कात्तिक २८ मा खेल्नेछ । समूहको विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् ।


