![]()
डोटी,२३ कार्तिक ।
निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट डोटी जिल्लाको प्रतिनिधिसभा सदस्यका उमेदवार प्रेमबहादुर आलेमगरले निर्वाचन आचारसंहिता विपरित मतदातालाई रकम बाँडेको भन्दै २४ घण्टाभित्र स्पष्टिकरण माग गरेको छ । आयोगले सोधेको छः‘तपाइँको उम्मेदवारी रद्द किन गर्न नपर्ने हो ?’ भनी उमेदवार आलेमगरलाई २४ घण्टाभित्र आयोगमा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
आयोगले उनलाई पठाएको पत्रमा चुनावी दौडमा रहेका निवर्तमान एमाले साँसदले पैसा बाँडेको आरोप भन्ने एक अनलाइनमा प्रकाशित समाचारप्रति आयोगको ध्यानाकर्षण भएको र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता लागु भइरहेको अवस्थामा तपाइँ प्रतिनिधिसभा सदस्यको उम्मेदवारले मतदातालाई रकम बाँडेको विषय निर्वाचन आचारसंहिता विपरित देखिएको हुँदा उक्त क्रियाकलापमा संलग्न भए वापत निर्वाचन आयोग ऐनअनुसार तपाइँको उम्मेदवारी रद्द किन गर्न नपर्ने हो ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नू’ उल्लेख गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


