![]()
इलाम । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले जनताको भावना अनुसार मात्रै चुनावी गतिविधि संचालन गर्न जनबर्गिय संगठनलाई निर्देशन दिनुभएको छ ।
जिल्लाको रोङ गाउँपालिका कुटीडाँडामा गठवन्धन प्रचारप्रसार समितिलाई निर्देशन दिंदै नेता खनालले भन्नुभयो, ‘ तपाईंहरु प्रत्येक गाउँगाउँ, बस्तीबस्ती, वडावडा र क्षेत्रक्षेत्रमा पुगी जनताको भावना अनुसार अघि बढनुहोस । जनताका समस्या के छन ? गुनासा के छन ? उनीहरुको अपेक्षा के छ ? सबै बुझनुहोस । जनताको भावना अनुसार हामी अघि बढनुपर्छ । ’
इलाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिशभा निर्वाचनको उम्मेदवार रहनु भएका नेता खनालले बामपन्थी गठवन्धन मातहतका अनेमासंघ, अनेरास्ववियू, बुद्धिजिवी संगठन, जेष्ठ नागरिक, शिक्षक संगठन, जन सांस्कृतिक मञ्च लगायतलाई निर्देशन दिनुभएको हो ।
नेता खनालले बुधवार नै सूर्योदय नगरपालिकामा आयोजित कार्यक्रममा पनि जनबर्गिय संगठन लगायत पार्टीका नेता कार्यकर्तालाई बामगठवन्धनका उम्मेदवारहरुलाई जिताउन दिलोज्यान दिएर लाग्न निर्देशन दिनुभयो ।
नेता खनाल तीन दिनको काठमाडौं बसाईपछि पुनः गृहजिल्ला इलाम फर्किनुभएको हो ।


