Breaking News.... EverestOnlineKhabar
June 24, 2026

भारतको नयाँ दिल्लीमा वायु प्रदूषणका कारण बिद्यालय बन्द

Loading

बिबिसि । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित स्तरभन्दा ७० गुणासम्म बढी पाइएपछि त्यहाँ सबै प्राथमिक विद्यालयहरु बन्द गरिएको छ ।

दिल्ली शहरका उपमुख्य मन्त्री मनीष शिशोडियाले विद्यालयहरु कहिलेसम्म बन्द गरिरहने भन्ने बारे निर्णय लिन प्रत्येक घण्टामा अब प्रदूषणको स्थितिको निरीक्षण गरिने बताएका छन् । दिल्लीका विद्यालयहरुलाई बाहिर खुला ठाउँमा गरिने सबै गतिविधिहरु गर्न पनि रोक लगाइएको छ ।

यसअघि भारतीय मेडिकल संघ आईएमएले जनस्वास्थ्यमा आपतकालको स्थिति आएको भन्दै सरकारलाई प्रदूषणका कारण उत्पन्न जोखिमलाई नियन्त्रण गर्न हर सम्भव प्रयास गर्नका लागि आह्वान गरेको छ ।

दिल्लीमा १९ नोभेम्बरमा आयोजना हुन लागेको हाफम्याराथन प्रतियोगिता पनि स्थगित गर्न आईएमएले सुझाएको छ । विश्वकै सबभन्दा प्रदूषित मध्येको एक शहर मानिएको दिल्लीलाई लगातार दोस्रो दिन बुधबार बाक्लो तुवाँलोले ढाकेको थियो । एक जना वरिष्ठ डाक्टरले त्यहाँको प्रदूषणको स्तर भनेको दैनिक ५० खिल्ली चुरोट पिउनु बराबर भएको बताएका छन ।

तुवाँलोका कारण उत्पन्न समस्यालाई दर्शाउने तस्वीरहरु मानिसहरुले सामाजिक सञ्जालमा राखिरहेका छन् । भारतीय राजधानी दिल्लीमा वर्षेनी खास गरी जाडो महिना शुरु भएपछि बाक्लो तुवाँलो फैलिने समस्या देखिने गर्छ ।

गाडीबाट निस्किएका धूवाँ तथा छिमेकी राज्यहरु पञ्जाब र हरियाणामा कृषकहरुले कृषिबालीका ठुटाहरु जलाउने कार्यले वायु प्रदूषण बढाएको बताइएको छ । साथै कम गतिको हावा, निर्माणस्थलबाट आउने धूलो, फोहोर जलाउने कार्य र चाडपर्वहरुमा पड्काइने पटाकाले दिल्लीमा वायु प्रदूषणको स्तर बढाएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed