![]()
काठमाडौ,२१ कार्तिक ।
केन्द्रीय समितिको निर्णय विपरीत नेपाली कांग्रेसले २५ जनालाई समानुपातिक सूचीमा दोहोर्याएको छ । असोज २० गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले अपवाद बाहेक दोस्रोपटक कसैलाई अवसर नदिने निर्णय गरेको थियो। नयाँलाई अवसर दिने उद्देश्यले निर्णय गरे पनि २५ जना नेताको नाम दोस्रो पटक पनि बन्दसूचीमा समावेश छ।
पार्टीमा प्रभावशाली मानिएका केन्द्रीय सदस्य तथा पूर्वकेन्द्रीय सदस्य समेतले प्रत्यक्ष चुनाव लड्ने साहस देखाउन सकेनन्। सांसद हुने महत्वकांक्षा सुरक्षित गर्नका लागि उनीहरुले प्रतिनिधिसभातर्फ समानुपातिकको सूचीमा आफ्नो नाम दर्ज गराएका छन्। समानुपातिक सूचीमा नाम दोहोर्यािउने केन्द्रीय सदस्यहरुमा सुजाता कोइराला, चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, सुजता परियार र लक्ष्मी परियार छन्। यस्तै, पुनः अवसर पाउने पूर्वकेन्द्रीय सदस्यहरुमा मीना सुब्बा र विमला नेपाली छन्।
दोस्रोपटक अवसर पाउनेहरुमा नेता पत्नीदेखि नेताकी बहिनीसम्म छन्। कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्का र बालकृष्ण खाँणकी पत्नीको नाम समानुपातिक सूचीमा छ। खड्काकी पत्नी शिला खड्का र खाँणकी पत्नी मञ्जु खाँणले समानुपातिक सूचीमा दोस्रो पटक अवसर पाएका हुन्।
समानुपातिक सूचीमा दोस्रो पटक नाम दर्ता गराउन सफल हुनेहरुमा डिला संग्रौला, दीपशिखा शर्मा ढकाल, महेन्द्रकुमारी लिम्बु, उमा रेग्मी, रुक्मिणीदेवी कोइराला, कल्याणी रिजाल, मैना कार्की, आशा विश्वकर्मा, मिनाक्षी झा, नगिना यादव, दिव्यमणि राजभण्डारी,मनोरमा शेरचन, लालकाजी गुरुङ, जीवनप्रेम श्रेष्ठ र नरभान कामी छन्।
कांग्रेसभित्र नातावाद, कृपावाद मौलाएकाले टीकट वितरणमा यस्तो बेथिति मौलाएको भन्दै कांग्रेसकै नेताहरुले आलोचना गरेका छन्। कांग्रेस नेता धनराज गुरुङ भन्छन्ः‘ कांग्रेसमा टिकट वितरण गर्दा योग्यता, क्षमता भन्दा पनि नातावाद कृपावाद हाबी भयो ।’
यस्तै, नेता बद्रीप्रसाद पाण्डे टिकट वितरण प्रणालीमा पद्धतिभन्दा पनि व्यक्ति हाबी भएका कारण यस्तो समस्या आएको बताउँछन्।
दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन लडेर जीत हात पारेका नेता यसपटक समानुपातिक सूचीमा परेका छन्। दोस्रो संविधानसभा निर्वाचनमा सिरहा–३ बाट निर्वाचित सितादेवी यादवको नाम समानुपातिकतर्फ छ। यस्तै, रुपन्देही–३ बाट निर्वाचित बालकृष्ण खाँण पनि समानुपातिकमै बसेका छन्। नुवाकोटमा क्षेत्र घटेपछि बहादुरसिंह लामालाई पनि समानुपातिकतर्फ तानिएको छ। संविधानसभाको दोस्रो निर्वाचनमा उनी नुवाकोट–२ बाट विजयी भएका थिए।
बागलुङ–३ बाट प्रत्यक्ष चुनाव जितेकी ज्ञानकुमारी छन्त्याल र दाङ क्षेत्र नम्बर–१ बाट निर्वाचित पार्वता डिसी चौधरी पनि यो पटक समानुपातिक सूचीमा छन्। यस्तै, कपिलवस्तु–२ बाट स्वतन्त्र रुपमा चुनाव जितेका अत्तहर कमाल मसुलमानलाई कांग्रेसले समानुपातिकमा राखेको छ। सिरहा–१ बाट दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित पद्मनारायण चौधरी पनि समानुपाति सूचीमा छन्।
दोस्रो संविधानसभा निर्वाचनमा पराजित पुष्पा भुषाल, किशोरसिंह राठौर, दिलेन्द्रप्रसाद बडू पनि समानुपातिक सूचीमा छन्।


