Breaking News.... EverestOnlineKhabar
June 25, 2026

पूर्वप्रधानमन्त्री खनाल छैटौं ‘लडाइँ’ मा, यसपाली झन् ढुक्क….

Loading

इलाम,२१ कार्तिक ।
पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका बरिष्ठ नेता छैठौ चुनावी लडाईमा छन् । इलामबाट ४ पटक जित र एक पटक हार बेहोरेका एमालेका अध्यक्ष समेत रहिसक्नुभएका खनाल चुनाव जित्नेमा यस पटक थप ढुक्क देखिएका छन् । खनालले फेरि उम्मेदवार बन्ने चाहना गरेपछि अन्य नेताले चुनाव लड्न अगाडी नै सरेनन् । उनी सर्वसम्मत उम्मेदवार भए । त्यसो त उनले युवालाई अघि बढाउन नचाहेका पनि होइनन् तरजिल्लाका युवा नेताले नै आफैंलाई उठ्न जोड गरेको खनालको भनाई छ ।
उनले भनेः‘ यस पटक युवालाई छाडौं भनेको, मान्दै मान्नुभएन, युवाले नै तपाईं उठ्नैपर्छ भन्नुभयो ।’ खनालले विगतमा जस्तो चुनौती यो निर्वाचनमा महसुस गरेका छैनन् । माओवादी साथ पाएकाले उनी आफ्नो जितप्रति ढुक्क देखिन्छन् जति पहिले जितेका चुनावमा पनि हुँदैनथे ।अगाडी भनेः‘विगतभन्दा यस पटक मतदाताले गहिरो माया दिनुभएको छ,त्यसकारण मलाई झन् सहज भएको छ ।’ एमाले र माओवादीबीच चुनावी गठबन्धनबाट हौस्याएका छन् उनी ।
कांग्रेसका पुराना कार्यकर्ता भूपेन्द्र कट्टेलसँग प्रतिस्पर्धामा उत्रिएका खनालको यो प्रतिनिधिसभाका लागि छैटौं प्रतिस्पर्धा हो । इलाम १ बाट प्रतिनिधिसभामा उम्मेदवार भएका खनालले कार्यकर्ताको आरोप र गुनासो उत्तिकै झेलिरहेका छन् । तिनै गुनासालाई कांग्रेसका उम्मेदवारले मुद्दा बनाएका छन् ।
कांग्रेस उम्मेदवार कट्टेलले करिब ३० वर्ष राजनीति गरेर पनि खनालले काम नगरेको आरोप लगाए । उनले भनेः‘ उहाँ (झलनाथ) प्रधानमन्त्री भए पनि यो क्षेत्रमा खासै काम गर्नुभएको छैन् । त्यसकारण यो क्षेत्रमा नयाँ जनप्रतिनिधि आवश्यक परेको छ,३० वर्षसम्म एउटै व्यक्ति उम्मेदवार हुनु निरंकुश शैली हो ।’
तर खनाल भने यो मान्न तयार छैनन् । यसबीच इलामले धेरै विकास र प्रगति गरेको दाबी गर्दै उनले त्यसलाई पूर्णता दिन बाँकी रहेको सुनाए ।खनालले भनेः‘कृषिलाई आधुनिकीकरण, सडकको विस्तारलगायत कामलाई पूर्णता दिन फेरि निर्वाचित हुुनुपरेको हो । जनताका गुनासा भए सम्बोधन हुँदै जान्छन् ।’
कांग्रेस उम्मेदवार कट्टेल सूर्योदय नगरपालिका फिक्कलका पुराना कांग्रेस कार्यकर्ता हुन् । २०४३ सालमा राष्ट्रिय पञ्चायतको उम्मेदवार बनेका उनले वामपन्थी उम्मेदवार खनालसँग आफ्नो दह्रो प्रतिस्पर्धा हुने बताए । प्रचारप्रसारलाई तीव्रता दिने तयारीमा फिक्कलमा भेटिएका कट्टेलले आफू जनताको सेवाका लागि राजनीतिमा लागेको बताए ।
खनाल बहुदल आएपछिका सबै निर्वाचनमा उनले उक्त क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएका छन् । हालसम्म यो क्षेत्रबाट एक पटक मात्र पराजित खनाल दुई पटकको संविधानसभा निर्वाचनसहित चार पटक विजयी भएका छन् । खनालले ०४८, ०५१, ०६४ र ०७० सालमा यो क्षेत्रबाट जितेका हुन् । ०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेसका बेनुपराज प्रसाईंसँग पराजित भएका थिए । माओवादी केन्द्रका जिल्ला कार्यवाहक इन्चार्ज कान्छा लावतीले गठबन्धनभित्र अन्तरघात नहुने दाबी गरे । यसअघि तीनवटा निर्वाचन क्षेत्र रहेको इलाममा नयाँ प्रावधानअनुसार प्रतिनिधिसभामा दुई क्षेत्र कायम छन् । पछिल्लो संरचनाअनुसार इलाम १ मा माई र सूर्योदय नगरपालिकासहित रोङ, माइजोगमाई र सन्दकपुर गाउँपालिका छन् । स्थानीय तहमा रोङ गाउँपालिकाबाहेक एमालेले जितेको छ । एक गाउँपालिका कांग्रेसले जितेको छ ।
साविक १ नम्बर क्षेत्रमा कांग्रेसका पूर्वसभापतिसमेत रहेका कट्टेल चिया उत्पादक हुन् । एमाले पूर्वअध्यक्ष एवं प्रधानमन्त्री खनाल ०३२ सालमा २० वर्षको उमेरमा जेल परेका थिए । कम्युनिस्ट पार्टी विस्तारको सिलसिलामा उनले बागलुङमा शिक्षण पेसा अंगालेका थिए । ०३२ सालमा उनीसहित ७ नेता मिलेर कम्युनिस्ट कोअर्डिनेसन गठन गरेका थिए । ०३९ सालमा ३३ वर्षको उमेरमा नेकपा मालेको महासचिव भए खनाल । ०४६ सम्म उनी महासचिवकै भूमिकामा रहे । ०६५ फागुनमा उनी एमाले पार्टी अध्यक्ष निर्वाचित भएका थिए । खनाल माओवादीको समर्थनमा ०६७ माघमा प्रधानमन्त्री निर्वाचित भएका थिए ।
सबै दलका शीर्ष नेतालाई जिताउन आपसी तालमेल मिलाउने समझदारी भएको चर्चा चलिरहेका बेला खनालले कांग्रेस सभापति शेरबहादुर देउवाको सद्भाव आफूलाई भएको बताए । एमाले र माओवादीबीच गठबन्धनको अन्तर्घातको सम्भावना नभएको उनले बताए । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई जिताउने अभियान पनि सुरु भइसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed