![]()
ललितपुर,२० कार्तिक ।
पूर्वराष्ट्रपति डा.रामवरण यादवलाई पुनःघर छाड्न अल्टिमेटम पत्र दिइएको छ । भाडाको घरमा बस्दै आउनुभएका पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १५ दिनभित्र घर छाड्न आग्रह गर्दै घर धनी रविभक्त विष्टले सार्वजनिक सूचना जारी गरेका छन् । सोमबार दैनिक पत्रिकामा सूचना निकालेर विष्टले घरको भाडा नपाएको र सम्झौतासमेत नवीकरण नगरेकाले राष्ट्रपति कार्यालय शीलतनिवास र पूर्व राष्ट्रपतिको सचिवालयलाई घर खाली गर्न आग्रह गरेका हुन् ।
विष्टले १५ दिनभित्र आफ्नो घर नछाडे कानुन बमोजिम अघि बढ्ने चेतावनीसमेत दिएका छन् । ललितपुर महानगरपालिका–४ बागडोलमा रहेको घरमा २०७२ साल कात्तिक २ गतेदेखि पूर्व राष्ट्रपति यादव बस्दै आउनुभएको छ । घरको सम्झौता गएको साउन १ गते नै सकिए पनि सरकारले नवीकरण र भाडा चुक्ता नगरेको सूचनामा उल्लेख गरिएको छ ।
विष्टले यसअघि पनि आफ्नो घर खाली गरिदिन लिखित तथा मौखिक आग्रह गर्दै आए पनि सुनुवाई नभएपछि सार्वजनिक सूचना नै जारी गर्नुपरेको उल्लेख गरेका छन् ।


