![]()
इलाम । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल चुनावी प्रचार अभियानमा आफनै गृहजिल्ला इलाममा व्यस्त हुनु भएको छ । आउँदो मंसिर २१ गते हुन गैरहेको प्रतिनिधिशभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराए लगत्तै खनाल घरदैलोसहित कार्यकर्ता भेटघाट र प्रचारप्रसारमा व्यस्त हुनु भएको हो ।
प्रतिनिधिशभा निर्वाचनका लागि बामगठवन्धनकातर्फबाट साझा उम्मेदवार रहनु भएका नेता खनालले आफनो निर्वाचन क्षेत्रका प्रत्येक वडामा पुगी सर्वसाधारणसंग भेटघाट गर्दै उनीहरुका पीरमर्का र गुनासो सुनिरहनु भएको छ । उहाँले स्थानीय जनताका चाहना र आवश्यकतालाई सम्बोधन गर्दै राष्ट्रिय राजनीतिमा बामगठवन्धनको आवश्यकताका विषयमासमेत जानकारी गराइरहनु भएको छ । नेता खनालले शनिवार इलाम जिल्ला क्षेत्र नम्बर १ अन्तर्गत रोङ गाउँपालिका वडा नम्बर ६ को प्रथम वडा अधिवेशनको उद्घाटन गर्नुभयो ।

अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री खनालले रोङ गाउँपालिकालाई आगामी ५ बर्ष भित्र प्रदेश नम्बर १ को सबैभन्दा राम्रो पर्यटकियस्थल बनाउने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले रोङमा आधुनिक ढंगले आर्थिक गतिविधि बढाइ रोजगारीका अवसर सृजना गर्ने र बैदेशिक रोजगारीका लागि बिदेश जानुपर्ने बाध्यताको अन्त्य गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो । रोङमा उत्पादन हुने फलफुलाई बिश्वबजारसम्म पुर्याउन आफूले योजना बनाइसकेको समेत उहाँले स्पष्ट पार्नुभयो ।
कांग्रेसले मुलुकको स्वाभिमान बिदेशीसामु सुम्पियो
राष्ट्रिय राजनीतिमाथि टिप्पणी गर्दै पूर्वप्रधानमन्त्री खनालले वर्तमान कांग्रेस नेतृत्वको सरकारले मुलुकको स्वाभिमान बिदेशीसामु सुम्पिएको आरोप लगाउनुभयो । उहाँले कांग्रेस सत्तामा गएपछि जनताको भावना र चाहनामाथि खेलवाड भएकाले अबको निर्वाचनमा बामपन्थी उम्मेदवारलाई जिताउन अपिलसमेत गर्नुभयो ।
नेता खनालले आसन्न प्रतिनिधि र प्रदेशशभा निर्वाचनपछि बामपन्थीको सरकार बन्ने र त्यसले राष्ट्रिय स्वतन्त्रता, अखण्डता र देशविकासलाई पहिलो प्राथमिकता राखी काम गर्ने दाबी गर्नुभयो । कम्युनिष्ट पार्टी जनताको चाहना र बिधि अनुसार चल्ने भएकाले कम्युनिष्ट सरकारले बिश्वभर देशको शीर ठाडो पार्ने उहाँले उल्लेख गर्नुभयो ।


