Breaking News.... EverestOnlineKhabar
June 27, 2026

‘निधि र महतो’ टकरावका कारण लोकतान्त्रिक गठवन्धन संकटमा, धनुषा ३ मा प्रतिष्ठाको लडाई

Loading

काठमाडौं । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि र राजपा नेता राजेन्द्र महतोका कारण लोकतान्त्रिक गठवन्धन संकटमा परेको छ । यी दुई नेताले आगामी प्रतिनिधिशभा निर्वाचनका लागि एउटै निर्वाचन क्षेत्र रोजेपछि गठवन्धन नै धरापमा परेको हो ।

धनुषाको ३ नम्बर क्षेत्र काँग्रेस नेता विमलेन्द्र निधिले नछाडेपछि कुरामा सहमति बन्न नसकेको हो । धनुषाका तीन नम्बर क्षेत्रबाट राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पनि दावी गरेका छन । बुधवार बालुवाटारमा भएको छलफलमा कांग्रेसले निधिलाई फिर्ता गर्न नसकिने बताएपछि राजपा नेता असन्तुष्ट भएका छन ।

राजपा नेपालले सर्लाहीको चार नम्बर क्षेत्र वा धनुषाको तीन नम्बर क्षेत्रमध्ये एक आफूहरुलाई दिन आग्रह गरेका थिए । तर, काँग्रेसले दुई मध्ये कुनै पनि खाली गर्न तयार नदेखिएपछि सहमति हुन सकेन ।

सर्लाही चारबाट डा. अमेरशकुमार सिंह उम्मेदवारी दिने तय भइसकेको छ । सर्लाही चारबाट काँग्रेसले संहलाई टिकट नदिएको खण्डमा त्यहाँबाट महतोले चुनाव लड्ने सम्भावना थियो । तर सिंहले नमानेपछि राजेन्द्र महतोले धनुषा तीनका लागि आफ्नो उम्मेदवारी तय गरेका हुन् ।

बैठकमा मधेशी दलले धनुषाको क्षेत्र नम्बर तीन माग्दा विमलेन्द्र निधिले राजेन्द्र महतोलाई ‘धनुषा क्षेत्र नम्बर तीनबाट प्रदेशसभामा लड्नुस् काँग्रेसले सघाउँछ’ भनेपछि महतो भड्किएका थिए ।

बैठकममा कांग्रेस नेता प्रदीप गिरीले राजेन्द्र महतोलाई धनुषा ४ बाट चुनाव लड्न आग्रह गरेका थिए । गिरीले यस्तो प्रस्ताव अघि सारेपछि राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले ‘तपाईंहरुले जे–जे भन्नुहुन्छ त्यही मान्नुपर्छ भने के छ ? न तपाईंहरु सर्लाही छाड्न चाहनुहुन्छ न धनुषा छाड्न चाहनुहुन्छ । हामीलाई मात्र छाड्न भन्नुहुन्छ । तपाईहरुले गर्न चाहीँ खोज्नुभएको के हो ?’ भन्दै आक्रोश व्यक्त गरेका थिए ।

महन्थको आक्रोशसंगै बालुवाटारबाट राजपा नेताहरु बाहिरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.