![]()
काठमाडौं । मिस नेपाल निकिता चाण्डकले नोभेम्बर १८ मा चीनको सान्यामा हुन लागेको ‘मिस वर्ल्ड २०१७’ मा छाउपडीको कथा लैजाने भएकीछिन । प्रतियोगिताको ‘ब्युटी विथ प्रपोज’ बिधामा उनले नेपालको छाउपडी प्रथालाई उजागर गर्ने भएकी हुन । यसका लागि निकिताले दैलेखमा लामो समय यो विषयमा अध्ययन गरेकीछिन ।
निकिताले दैलेख जिल्लाको तीनवटा गाविसमा पुगेर महिनावारीसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेकी छन् । ‘यो विषय अहिलेसम्म नउठाइएकाले मैले यसलाई छानेकी हुँ’, निकिताले भनिन् । यस अभियानका लागि दैलेख पुगेपछि उनले त्यहाँका ७० देखि ८० प्रतिशत महिलामा पाठेघरको समस्या रहेको तथ्य पनि फेला पारिन् । यी समस्याको मुख्य कारण अशिक्षा र चेतनाको कमी भएको उनको ठम्याइँ छ । ‘नेपालमा कसैले पनि महिनावारीसम्बन्धी खुलेर कुरा गर्न सक्दैनन, दैलेखमा झनै दयनीय अवस्था रहेछ’, उनको भनाइ छ ।
छाउपडीसम्बन्धी चेतनामूलक कार्यक्रमका लागि उनी गत अगस्ट र सेप्टेम्बरमा दैलेखमा गएकी थिइन् । ‘छाउपडीविरुद्धमा बोल्नु ठीक जस्तो लागेन । किनकि यो परम्पराको लामो इतिहास रहेछ । जसले त्यहाँका मानिसमा गहिरो छाप छोडेको छ’, आफ्नो अनुभव सुनाउँदै उनले भनिन, ‘यस विरुद्धमा बोल्नुभन्दा पनि त्यहाँ गएर उनीलाई महिनावारी के हो, किन र कसरी हुन्छ, यस्तो बेलामा सरसफाइ कसरी गर्नेजस्ता विषयमा भलाकुसारी गर्नु उचित हुन्छ ।’
विभिन्न संघसंस्थाले त्यहाँ छाउपडी हटाउन निकै पहल गरेको छ । तर परम्परागत मान्यता हटाउनुभन्दा पनि यसका बेफाइदको बारेमा बुझाउन सक्नुपर्ने उनको भनाइ छ । यस्तो समयमा आफूलाई के गर्नुहुन्छ, के गर्न हुन्न, स्वास्थ्यमा केकस्ता असर पर्छ भन्ने विषयमा स्पष्ट बनाउन सक्नुपर्छ । महिनावारी तथा प्रजनन स्वास्थ्यको बारेमा निरन्तर सचेतना र शिक्षाको अभाव खड्किएको दैलेख बसाइमा उनले अनुभव सँगालेकी छन् ।
छाउपडीको विषय बिश्व जगतमा नितान्त फरक विषय भएकाले मिस वल्र्ड २०१७ मा सकारात्मक प्रतिक्रिया पाउने उनको अपेक्षा छ ।


