![]()
तनहुँ । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई टिकट दिन माग गर्दै तनहुँमा जोशी पक्षधर कांग्रेस कार्यकर्ताले प्रदर्शन गरेका छन् । जिल्ला कार्य समितिको बैठक चलिरहेका बेला क्षेत्र नम्बर १ का जोशीका समर्थकले दमौली बजारमा प्रदर्शन गरेका हुन । विगतमा सोही क्षेत्रबाट टिकट लिएर सांसद तथा मन्त्रीसमेत भैसकेका जोशीको ठाउँमा वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत लडने इच्छा देखाएपछि जोशी समर्थक आक्रोशित बनेका हुन ।
प्रदर्शनपछि आयोजित सभामा बोल्दै नेता जोशीले आफूलाई टिकट नदिए कार्यकर्ताबाट हुने प्रतिरोधको सामना गर्न वरिष्ठ नेता पौडेललाई चेतावनी दिए ।
तनहुँमा क्षेत्र नम्बर १ बाट पौडेल र जोशीसहित केन्द्रीय सदस्यद्वय शंकर भण्डारी र गोविन्द भट्टराईसमेत प्रतिनिधि सभा सदस्य चुनावमा प्रत्यक्षको टिकटका आकांक्षी छन् । क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य प्रदीप पौडेलसहित संसदीय दलका सचिव ध्रुव वाग्लेलगायतका नेताले प्रतिनिधि सभा सदस्यको टिकटको आशा गरेका छन् ।


