![]()
बिबिसि । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना विदेशमन्त्री रेक्स टिलर्सनलाई उत्तर कोरियासँग वार्ता गर्ने प्रयत्न गरेर समय खेर नफाल्न सुझाव दिएका छन । यसअघि आइतवार टिलर्सनले उत्तर कोरियाको क्षेप्यास्त्र तथा पारमाणविक कार्यक्रमबारे वार्ताका लागि प्योङयाङसँग वाशिङटन ’सिधा सम्पर्क’मा रहेको बताएका थिए ।
तर सामाजिक सञ्जाल ट्वीटरमा उत्तर कोरियाली नेता किम जङ अनलाई’ सानो रकेट मान्छे’ भन्दै ट्रम्पले टिलर्सनलाई आफ्नो ऊर्जा जोगाउन सुझाव दिएका हुन । ट्रम्पले भनेका छन, “रेक्स तिमीले आफ्नो ऊर्जा जोगाऊ, हामीले जे गर्नुपर्छ त्यो गर्छौँ । “
ट्रम्पको ट्वीटपछि समाचार संस्था रोएटर्ससँग कुरा गर्दै एक अमेरिकी अधिकारीले उत्तर कोरियाले ’उक्साहटपूर्ण’ गतिविधि जारी राखेका बेला वार्ता गर्ने उपयुक्त समय नभएको राष्ट्रपतिको विश्वास रहेको बताए । ती अधिकारीका अनुसार उत्तर कोरियामा पक्राउ परेका अमेरिकी नागरिकहरुको रिहाई सुनिश्चित गर्नका निम्ति कूटनीतिक तवरबाट प्रयास गरिएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्प र र उत्तर कोरियाली नेता किम पछिल्लो समय आरोप प्रत्यारोपमा व्यस्त छन् । पछिल्लो समय लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आएको उत्तर कोरियाले आफ्नो अस्त्र विकास कार्यक्रम बन्द गरोस् भनी अमेरिका चाहन्छ । तर राष्ट्रपति ट्रम्पकै केही रवैयाका कारण वार्ता प्रयास फलदायी हुन नसकेको बताइन्छ । गत महिनामात्रै उनले वार्ता समस्या हल नभएको टिप्पणी गरेका थिए ।
गत महिना उत्तर कोरियालाई ‘नष्ट गरिदिने’ चेतावनी दिएका ट्रम्पले किम जङ अनलाई ‘आत्मघाती अभियानमा लागेका क्षेप्यास्त्र मान्छे’ भनेका थिए ।
जवाफमा किम जङ अनले ट्रम्पले संयुक्त राष्ट्रसंघमा दिएको भाषणलाई भुकिरहेको ’कुकुरको आवाज’ को संज्ञा दिएका थिए ।


