![]()
काठमाडौ,११ असोज ।
स्थानीय तह निर्वाचन २०७४ मा सबैभन्दा बढी सिट जितेर नेकपा एमाले पहिलो पार्टी बनेको छ । नेकपा एमाले पहिलो र दास्रो चरणको स्थानीय तह निर्वाचनमा पहिलो पार्टी बन्यो भने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा भने पाँचौ स्थानमा भ¥यो । सिटको आधारमा एमाले पहिलो पार्टी बनेपनि मतको आधारमा भने नेपाली कांग्रेस स्थानीय तह निर्वाचनमा पहिलो पार्टी बनेको छ । पहिलो र दास्रो चरणको स्थानीय तह निर्वाचनमा कांग्रेस दोस्रो पार्टीमा खुम्चिएपनि तेस्रो चरणको स्थानीय तह निर्वाचनमा भने कांग्रेस पहिलो पार्टी बनेको छ ।
नेकपा एमालेले २९४ तह जितेको छ भने कांग्रेस दुई सय ६७ मा समेटियो । प्रदेश २ मा धेरै सिट जितेर समग्रमा पहिलो पार्टी बन्ने कांग्रेसको लक्ष्य पुरा भएन । तर, समग्र पपुलर भोटका आधारमा कांग्रेस पहिलो पार्टी बनेको छ । पहिलो र दोस्रो चरणको पपुलर भोटका आधारमा एमालेले समग्रमा ४२ हजार बढी मत पाएको थियो । तर, प्रदेश २ मा दुई दलबीचको अन्तर एक लाखको हुन पुगेको छ र पपुलर भोटमा समग्रमा कांग्रेस पहिलो पार्टी बनेको छ ।
प्रदेश २ को एक सय ३६ स्थानीय तहमध्ये वीरगञ्ज महानगरसहित २ ठाउँको मतगणना चलिरहेको छ । परिणाम आइसकेकामध्ये कांग्रेसले ४०, संघीय समाजवादी फोरमले २५ र राजपाले २४ स्थानीय तह जितेका छन् । माओवादी केन्द्रले २१ स्थानीय तह जित्दा एमाले १८ वटामा विजयी भएको छ ।अर्थात्, प्रदेश २ मा एमाले पाँचौं स्थानमा रह्यो । पपुलर भोटमा भने एमाले दोस्रो स्थानमा देखिएको छ ।
निर्वाचन आयोगका अनुसार प्रदेश २ मा २६ लाख ६४ हजार नौ सय ५० मतदाता थिए । जसमध्ये ७६ दशमलव ०८ प्रतिशत अर्थात् २० लाख २७ हजारभन्दा बढी मत खसेको छ । खसेको मतमध्ये कांग्रेसले चार लाख १३ हजार पाएको छ । यसमा वीरगञ्ज महानगर, कलैया उपमहानगर र राजविराज नगरमा पाएको मत जोडिएको छैन । तीन ठाउँको अन्तिम परिणाम आउँदा यो मत चार लाख ५० हजार आसपास पुग्नेछ ।
अघिल्लो संविधानसभामा कांग्रेसले प्रदेश २ का आठ जिल्लामा २१ प्रतिशत मत पाएको थियो । अहिले पनि कांग्रेसले पाएको पपुलर मत त्यसकै वरिपरि रहेको देखिन्छ । त्यसबेला कांग्रेसले २१ दशमलव आठ प्रतिशत मत पाएको थियो ।
एमालेले तीन लाख आठ हजार मत पाएको छ, जसमा वीरगञ्ज, कलैया र राजविराजको जोड्दा तीन लाख २० हजार नाघ्नेछ । यो दोस्रो संविधानसभामा प्रदेश २ का आठ जिल्लामा पाएको मतको तुलानामा कम हो । त्यसबेला एमालेले १९ दशमलव चार प्रतिशत मत पाएको थियो, जुन घटेर १५ प्रतिशत हाराहारीमा ओर्लिएको छ ।
प्रदेश २ को स्थानीय तहको पपुलर मतमा माओवादी र एमाले हाराहारीमा देखिएका छन् । माओवादीले दुई लाख ९२ हजार मत पाएको छ । वीरगञ्ज, कलैया र राजविराजको मत थप्दा एमालेभन्दा झण्डै १० हजार कम मत मात्र हुनेछ, माओवादीको । यसरी हेर्दा माओवादीले मधेसका आठ जिल्लामा पपुलर मतमा सुधार गरेको पाइन्छ ।
प्रदेश २ को चुनावमा संघीय समाजवादी फोरम र राजपाबीच प्रमुख जितेको स्थानीय तहको संख्या मात्र होइन, पपुलर भोटमा पनि कडा प्रतिस्पर्धा देखिएको छ । तीन स्थानीय तहको परिणाम आउन बाँकी हुँदा फोरमले २५ र राजपाले २४ वटा जितेका छन् । वीरगञ्जमा संघीय फोरम अगाडि छ भने राजविराजमा राजपा । कलैयामा संघीय फोरम तेस्रो स्थानमा रहँदा राजपा भने प्रतिस्पर्धामै देखिएन ।
गणना सकिएका स्थानीय तहमा जितको संख्यामा जस्तै पपुलर मतमा पनि फोरमको झिनो अग्रता देखिएको छ । संघीय फोरमले दुई लाख १८ हजार मत बढी मत पाएको छ भने राजपाले दुई लाख नौ हजारभन्दा बढी मत पाएको छ । बाँकी स्थानीय तहको परिणाम आउँदा यो अन्तरमा संघीय फोरमले केही हजार थप्ने देखिन्छ ।


