![]()
काठमाडौं । दशैंका लागि मानिसहरुले काठमाडौं छोडेसंगै उपत्यकामा तरकारी तथा फलफूलको भाउ घटेको छ । एकातर्फ मागअनुसार तरकारी भित्रिएर मूल्य प्रभावित भएको हो भने अर्कोतर्फ दशैंका लागि बढी भन्दा बढी मानिसहरु आ–आफनो घर लागेपछि फलफुल र तरकारी फालाफाल भएको हो ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत बर्षको तुलनामा यसपटक प्रतिकिलो तरकारी तथा फलफूलको थोक मूल्यमा १ सय ५० रुपैयाँसम्म घटेको हो । गत वर्ष २९५ रुपैयाँ प्रतिकिलो थोक मूल्य रहेको अनारको भाउ अहिले १५० रुपैयाँ घटेर १४५ रुपैयाँमा सिमित भएको छ । १३५ रुपैयाँ रहेको घिउ सिमीको मूल्य अहिले ९३ रुपैयाँ घटेर ४२ रुपैयाँमा सिमित भएको छ । त्यस्तै गएको वर्ष १०५ रुपैयाँ तितो करेलामा प्रतिकिलो ७७ रुपैयाँ घटेर २८ रुपैयामा झरेको छ । त्यस्तै १०५ रुपैयाँ रहेको बोडीमा ५३, २७६ रुपैयाँ रहेको सुकेको लसुनमा ९१, ४६ रुपैयाँ रहेको हरियो फर्सीमा २४ रुपैयाँ घटेको छ ।
त्यस्तै गत वर्षको तुलनामा स्याउमा प्रतिकिलो २० रुपैयाँ, केरामा १०, नासपाती ५, लप्सीमा ५ रुपैयाँ घटेको छ । गत हप्ता प्रतिकिलो थोक मूल्य ५८ रुपैयाँ रहेको रायो साग अहिले १५ रुपैयाँ घटेर ४३ रुपैयाँमा झरेको छ । त्यस्तै च्याउमा प्रतिकिलो ३० रुपैयाँ, हरियो धनियाँमा ३०, गाँजरमा ६, स्थानीय काउलीमा ६, भान्टामा ६, बोडीमा ६ रुपैयाँ घटेको छ ।


