Breaking News.... EverestOnlineKhabar
August 16, 2026

प्रदेश नं.३ को मुख्यमन्त्री बन्न गगन थापाको दौडधुप

Loading

काठमाडौ,१० असोज ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य गगन थापाले ३ नम्बर प्रदेशलाई केन्द्रमा राखेर चुनावी अभियान थालेका छन् । उनले नेपालीको महान् चाड बडादसैंको सदुपयोग गर्दै प्रदेश नम्बर ३ का कांग्रेस नेतासँग संवाद सुरु गरिसकेका छन् ।गगनले सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का नेता–कार्यकर्तासँग आफू प्रदेशसभा निर्वाचनमा आउन लागेको जनाउ दिँदै सहयोगका लागि अपिल पनि गर्न भ्याए ।
कमलादीस्थित प्रज्ञा भवनमा आयोजित भेलामा गगनले आसन्न प्रदेशसभाको निर्वाचनमा ३ नम्बर प्रदेशको नेतृत्व गरेर आफू चुनावी मैदानमा उत्रन लागेको खुलाए । दसैं शुभकामना आदानप्रदानको नाममा गगनको यो सक्रियतालाई कांग्रेसी नेता–कार्यकर्ताले ३ नम्बर प्रदेशका लागि निर्वाचन अभियान सुरु गरेको अर्थका रूपमा लिएका छन् । गगनलाई कांग्रेसभित्र ३ नम्बर प्रदेशको सम्भावित मुख्यमन्त्री दावेदारका रूपमा हेरिएको छ ।
उनले पार्टी नेतृत्वसमक्ष आफूलाई मुख्मन्त्रीका रूपमा अघि सारिए प्रदेशसभा निर्वाचनमा आउन तयार रहेको जनाउसमेत दिइसकेका छन् । गगन दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका हुन् । ३ नम्बर प्रदेशलाई एमालेको राम्रो पकड क्षेत्र मानिन्छ ।कांग्रेसले युवामाझ लोकप्रिय गगनलाई प्रदेशसभा निर्वाचनमा उतार्ने रणनीति बनाएको छ । प्रज्ञा भवनमा आयोजित दसैं शुभकामना आदानप्रदान कार्यक्रममा गगनको निर्वाचन क्षेत्रसहित काठमाडौंका कांग्रेस नेता–कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।
कांग्रेसले संघ र प्रदेश निर्वाचनका लागि सम्भावित उम्मेदवारको नामावली संकलन गर्ने प्रक्रिया अघि बढाएसँगै प्रदेशसभाका सम्भावित दाबेदारको सक्रियता पनि बढेको छ ।५ नम्बर प्रदेशको मुख्यमन्त्रीका रूपमा आफूलाई प्रस्तुत गर्दै बालकृष्ण खाँड पनि प्रचारप्रसारमा खटिसकेका छन् ।
कांग्रेसले १३ गतेभित्र गाउँ स्तरबाट र १५ गतेभित्र क्षेत्र स्तरबाट तथा १७ गते जिल्लाबाट संघ र प्रदेश दुवैको उम्मेदवारको नामावली केन्द्रीय कार्यालयमा पठाउन पत्राचार गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.