![]()
कोलम्बो,१० असोज ।
कोलम्बोमा एक बेहुलीले ३.२ किलोमिटर लामो साडी लगाएर विवाह गरेको घटना प्रकाशमा आएसँगै सरोकारवालाहरुले कारवाहीका लागि आवाज उठाउन थालेका छन् । श्रीलंकाको केन्डीमा हालै भएको विवाह समारोहमा बेहुलीले ३ किलोमिटर २ सय मिटर लामो साडी लगाएकी थिइन् ।
यति लामो साडी लगाउनु नै अपराध नभए पनि बेहुलीको साडी सम्हाल्नका लागि दुई सय ५० भन्दा बढी छात्रा प्रयोग गरिएको घटनाप्रति भने आपत्ति जनाइएको छ । विवाह समारोहका क्रममा बेहुला र बेहुली सडकमा पैदलै हिँडेका थिए । विवाह समारोहमा त्यहाँका मुख्यमन्त्रीसमेत सहभागी भएको बताइएको छ ।
विवाहको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विरोध सुरु भएको हो । छात्राहरुलाई कुनै नीजि समारोहमा घण्टौं तैनाथ गर्नु अपराधको श्रेणीमा पर्ने अधिकारकर्मीहरुको तर्क छ । श्रीलंकाको राष्ट्रिय बाल संरक्षण प्राधिकरणले घटनाको बारेमा छानविन सुरु गरिएको जनाएको छ ।
अपराध प्रमाणित भएमा बेहुलीलाई १० वर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ ।


