![]()
काठमाडौं । नेकपा एमालेले मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याएर केन्द्रसहित सातवटै प्रदेशमा सरकार बनाउने संकल्प गरेको छ । तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले बिभिन्न १४ बुँदे निर्णय गर्दै यस्तो संकल्प गरेको हो ।
बैठकको अन्तिम दिन अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुका प्रश्नको जवाफ दिनुभएको थियो । केन्द्रीय कमिटी बैठकमा जवाफ दिँदै अध्यक्ष ओलीले आफूलाई देवत्वकरणमा रुची नरहेको बताउनुभयो । यो जवाफ बरिष्ठ नेता माधव नेपाललाई दिएको बुझिएको छ । ओलीले भने, ‘मलाई देवत्वकरणमा रुची छैन, अहिले पार्टीले पाएका सबै उपलव्धी सामुहिक रुपमा प्राप्त भएका हुन् । पार्टी अध्यक्षका रुपमा मैले मात्र गरेर होइन । तर, पार्टी ध्वंश भयो भन्ने र चुनावमा पार्टी पहिलो हुने कुराको तालमेल चाहिँ भएन ।’
एमालेले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने मापदण्ड समेत तय गरेको छ । एमालेका प्रादेशिक निर्वाचन क्षेत्र समन्वय कमिटी र प्रतिनिधिसभाका क्षेत्रीय निर्वाचन कमिटीहरुले बढीमा तीन जनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्नुपर्नेछ । सकेसम्म क्षेत्रीय कमिटीबाटै सर्वसम्मत रुपमा एकजनाको नाम सिफारिस गर्न प्रोत्साहन गरिएको छ ।
प्रदेशबाट सिफारिस भएका नामका आधारमा स्थायी कमिटीले उम्मेदवार तोक्नेछ । एमालेका सबै प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मा स्थायी कमिटीलाई दिइएको छ ।


