Breaking News.... EverestOnlineKhabar
June 7, 2026

Loading

काठमाडौ,५ असोज ।
यस वर्षको बडादशैं आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिँदै छ । आज घटस्थापनाको साइत बिहान ९ बजेर ४१ मिनेटमा शुभ रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ । काठमाडौंको हनुमान ढोकास्थित दशैं घरमा पनि घटस्थापनाको शुभसाइतमा जमरा राखिँदैछ । आश्विन शुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ ।
यसै दिनदेखि नवरात्री आरम्भ हुन्छ । यस दिन घर घरमा जमरा राखिन्छ र कलशको स्थापना गरी देवी–देवताको आह्वान गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धी गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ, मकैलगायतका अनाज छर्ने गरिन्छ ।
माता भगवतीलाई मनपर्ने बनस्पति जमरा भएकाले भगवतीलाई खुशी पार्नको लागि जमरा उमार्ने गरिएको हो । यसैगरी माटोको विशुद्ध जलपूर्ण घडाको वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ छर्ने गरिन्छ ।
अनि अनन्त शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ । यसै दिनदेखि नवमीसम्म घरघरमा र देवीका मन्दिरमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ । दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ ।
आज राखिएको जमरा देवीको प्रसादका रुपमा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ ।उपत्यका लगायत देशैभरको देवी मन्दिरहरुमा आज विहानैदेखि दर्शन गर्न जानेको घुईंचो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed