![]()
काठमाडौँ | मुलुकको राजनीतिमा ठूलो भूकम्प जाने संकेत देखिएको छ। सरकारले लोकतान्त्रिक आन्दोलनपछि सत्ताको नेतृत्व गरेका ६ जना पूर्वप्रधानमन्त्रीसहित २३ जना उच्चपदस्थ अधिकारीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने गृहकार्य अन्तिम चरणमा पुर्याएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रत्यक्ष निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत यो ठूलो अपरेशन अघि बढाएको हो।
को-को छन् निशानामा?
सम्पत्ति शुद्धीकरणको गम्भीर आरोपमा छानबिनका लागि पक्राउ पुर्जी जारी हुन लागेका पूर्वप्रधानमन्त्रीहरूको सूचीमा हेभीवेट नेताहरू रहेका छन्:
-
शेरबहादुर देउवा
-
केपी शर्मा ओली
-
पुष्पकमल दाहाल (प्रचण्ड)
-
माधवकुमार नेपाल
-
डा. बाबुराम भट्टराई
-
झलनाथ खनाल
पूर्वप्रधानमन्त्रीहरूका साथै मधेसवादी नेताहरू एवं पूर्वमन्त्रीहरू उपेन्द्र यादव, शरदसिंह भण्डारी लगायत २३ जना प्रभावशाली व्यक्तिहरूमाथि सम्पत्ति छानबिन प्रक्रिया तीव्र पारिएको छ।
प्रधानमन्त्रीको ‘ठाडो आदेश’ र सीआईबीको सक्रियता
प्रहरी स्रोतका अनुसार प्रधानमन्त्री बालेनले प्रहरी महानिरीक्षक र उच्च अधिकारीहरूलाई छिटोभन्दा छिटो अनुसन्धान प्रक्रिया टुङ्ग्याउन कडा निर्देशन दिएका छन्। सोही निर्देशनको आधारमा सीआईबीले अदालतबाट पक्राउ पुर्जी लिनका लागि आवश्यक कानुनी र कागजी प्रक्रिया अघि बढाइसकेको छ।
“अब सीआईबीमार्फत सबै पूर्वप्रधानमन्त्री र उनीहरूका आफन्तहरूको सम्पत्ति छानबिन गर्ने प्रयोजनका लागि पक्राउ पुर्जी जारी गरिनेछ,” प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले www.everestonlinekhabar.com लाई जानकारी दिए।
एक्सन सुरु: पूर्वमन्त्री खड्का पक्राउ
प्रधानमन्त्रीको दबाब र सीआईबीको सक्रियताको पहिलो नतिजा स्वरूप आइतबार बिहान मात्रै कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिसकेको छ। खड्काको गिरफ्तारीलाई अन्य पूर्वप्रधानमन्त्री र मन्त्रीहरू पक्राउ गर्ने प्रक्रियाको प्रारम्भिक खुड्किलोका रूपमा हेरिएको छ।
यो कदमले नेपाली राजनीतिमा वर्षौँदेखि जरा गाडेर बसेको भ्रष्टाचार र अकुत सम्पत्ति आर्जन विरुद्धको महासंग्राम सुरु भएको संकेत गरेको छ। अबको केही दिनभित्रै प्रभावशाली नेताहरू हिरासतमा पुग्ने सम्भावना प्रबल देखिएको छ।
थप अपडेटका लागि हेर्दै रहनुहोस्: www.everestonlinekhabar.com


