![]()
काठमाडौं।
नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै गर्दा पूर्व उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलले दिएको जिम्मेवारीलाई अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता गराएका छन्।
महाधिवेशनको बन्दसत्रले अनुमोदन गरेको विधान अनुसार ओलीले घोषणा गरेको पदाधिकारीहरूको सूचीमा ज्ञवालीलाई उपाध्यक्ष पदमा राखिएको थियो। तर, लामो समयदेखि महासचिव पदको दाबी गर्दै आएका ज्ञवालीले उपाध्यक्ष पद अस्वीकार गरेर केन्द्रीय सदस्य पदमा मात्र आफ्नो उम्मेदवारी दिएका हुन्।
ओली प्यानलले उपाध्यक्षमा प्रस्ताव गर्दा पनि ज्ञवालीले त्यसलाई स्वीकार नगर्नुलाई महाधिवेशनमा एमालेभित्रको आन्तरिक समीकरण र पद बाँडफाँटका विषयमा देखिएको असन्तुष्टिको रूपमा हेरिएको छ। महासचिवको दौडमा नरहेपछि उनले उपाध्यक्ष पदसमेत नलिई केन्द्रीय सदस्यमै सीमित हुने निर्णय लिएका हुन्।
यो ‘यू-टर्न’ सँगै ओली प्यानलका केही प्रमुख नेताहरूबीच पद व्यवस्थापनमा पूर्ण सहमति नभएको संकेत देखिएको छ। अहिले महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय कमिटीका लागि मतदान गरिरहेका छन्।


