![]()
काठमाडौँ, मंसिरनेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव हाइकिङका क्रममा अचानक बिरामी परेका छन्। शनिबार ललितपुरको चम्पादेवी क्षेत्रमा हाइकिङ गएका राजदूत श्रीवास्तवको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।प्रहरी स्रोतका अनुसार राजदूत श्रीवास्तव चम्पादेवीको पदयात्रामा निस्किएका थिए। पदयात्राका क्रममा बीच बाटोमा पुगेपछि उनलाई अचानक श्वासप्रश्वासमा समस्या र असहज महसुस भएको थियो। उचाइका कारण उनलाई ‘अल्टिच्युड सिक्नेस’ (लेक लाग्ने) समस्या भएको प्रारम्भिक अनुमान चिकित्सकहरूले गरेका छन्।स्वास्थ्यमा गम्भीर समस्या देखिएलगत्तै सुरक्षा निकायको समन्वयमा नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको थियो। उनलाई चम्पादेवी क्षेत्रबाट तत्कालै उद्धार गरी काठमाडौँ ल्याइएको हो।
अहिले राजदूत श्रीवास्तवलाई थप उपचारका लागि धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार विशेषज्ञ चिकित्सकहरूको टोलीले उनको स्वास्थ्य जाँच गरिरहेको छ। उनको पछिल्लो स्वास्थ्य अवस्थाबारे अस्पताल वा भारतीय दूतावासले आधिकारिक विज्ञप्ति भने जारी गरिसकेका छैनन्।
हाइकिङ र स्वास्थ्य जोखिम
पछिल्लो समय चम्पादेवी जस्ता छोटो दूरीका पदयात्रामा जाने क्रम बढे पनि अचानक हुने मौसम परिवर्तन वा उचाइका कारण स्वास्थ्यमा समस्या देखिने गरेका उदाहरण छन्। राजदूत श्रीवास्तवको स्वास्थ्य अवस्था बुझ्न परराष्ट्र मन्त्रालय र सुरक्षा निकायका अधिकारीहरू पनि अस्पताल पुगेका छन्।,


