Breaking News.... EverestOnlineKhabar
May 11, 2026

कांग्रेसमा महाधिवेशनको चटारो कि चुनावको धुन? पुरानै अनुहार दोहोरिँदा ‘जेन–जी’ आन्दोलनको मर्ममाथि प्रहार

Loading

काठमाडौँ, २७ मंसिर – नेपाली कांग्रेसको विधान अनुसार आगामी पुस २६ देखि २९ गतेसम्म महाधिवेशनको कार्यतालिका तोकिएको छ। पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्ने यो महाकुम्भ नजिकिँदै गर्दा पार्टी पंक्तिमा भने महाधिवेशनको भन्दा बढी निर्वाचनको सरगर्मी देखिएको छ।

केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएसँगै देशभरका क्षेत्रीय समितिहरू उम्मेदवार चयनमा व्यस्त छन्। तर, यो प्रक्रियाले पार्टीभित्र र बाहिर नयाँ बहस र असन्तुष्टि जन्माएको छ।

महाधिवेशन छायामा, चुनावको चटारो
पार्टीका नेता र कार्यकर्ता महाधिवेशनको नीति र नेतृत्वबारे बहस गर्नुको साटो निर्वाचन क्षेत्र सुरक्षित गर्न बढी केन्द्रित देखिएका छन्। “पार्टीलाई वैचारिक रूपमा पुनर्जीवित गर्ने समयमा चुनावको टिकट वितरणमा अल्झिनुले कांग्रेसमा पदको मोह बढी र सिद्धान्तको कम रहेको सङ्केत गर्छ,” एक राजनीतिक विश्लेषक भन्छन्।

पुरानै अनुहारको दबदबा, कार्यक्षमतामा प्रश्नचिन्ह
अहिले धमाधम भइरहेका उम्मेदवार सिफारिसको सूची हेर्ने हो भने धेरैजसो निर्वाचन क्षेत्रमा ‘पुरानै अनुहार’ दोहोरिएका छन्। पटक–पटक अवसर पाएर पनि ठोस कार्यगत क्षमता प्रदर्शन गर्न नसकेका र समाजमा प्रभाव छोड्न असफल भएका नेताहरू नै पुनः सिफारिसमा परेपछि कार्यकर्तामा चरम निराशा देखिएको छ।

कार्यक्षमतामा प्रश्न,सिफारिस भएका कतिपय नेताहरूको विगतको संसदीय इतिहास र विकासका कामहरू सन्तोषजनक छैनन्।

गुटबन्दीको प्रभाव, सक्षम र लोकप्रिय भन्दा पनि गुटप्रति वफादार व्यक्तिहरूले प्राथमिकता पाइरहेका छन्।

‘जेन-जी’ आन्दोलन र युवाको उपेक्षा
गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ (Gen Z) आन्दोलनले नेपाली राजनीतिमा ठूलो धक्का दिएको थियो। उक्त आन्दोलनले उठाएको मुख्य माग “नेतृत्वमा युवा र सक्षमको पहुँच” थियो। तर, कांग्रेसको हालको उम्मेदवार सिफारिस प्रक्रियाले उक्त आन्दोलनको मर्मलाई पूर्णतः उपेक्षा गरेको देखिएको छ।

“हामीले परिवर्तनको लागि सडकमा रगत र पसिना बगायौँ, तर पार्टीले फेरि तिनै पुराना पात्रहरूलाई अघि सार्दैछ जसले समयको माग बुझ्न सक्दैनन्,” एक युवा नेताले आक्रोश पोखे।

समाजमा भिजेका, उच्च शैक्षिक योग्यता भएका र काम गर्न सक्ने क्षमता भएका कयौँ सक्षम युवाहरू अहिले पनि पार्टीको मूलधारको उम्मेदवार सूचीभन्दा बाहिरै छन्। उनीहरूलाई ‘पर्ख र हेर’ को अवस्थामा राखिएको छ भने ७० कटेका नेताहरू फेरि संसद् छिर्ने दाउमा छन्।

अबको बाटो. रुपान्तरण कि पतन?
महाधिवेशनको मुखमा चुनावमा होमिएको कांग्रेसले यदि समयमै युवाहरूको आक्रोश र समाजको मागलाई सम्बोधन गरेन भने आगामी निर्वाचनमा ठूलो मूल्य चुकाउनुपर्ने देखिन्छ। पुरानै पात्र र प्रवृत्तिको निरन्तरताले पार्टीको संगठनलाई थप कमजोर बनाउने जोखिम बढेको छ।

कांग्रेसले महाधिवेशनलाई केवल नेतृत्व हत्याउने खेल मात्र नबनाई, युवा पुस्ता र समाजको भावना बुझ्ने ‘रुपान्तरणको अवसर’ बनाउनु आवश्यक छ। अन्यथा, सडकको ‘जेन-जी’ आन्दोलन मतपेटिकामा ‘नो नट अगेन’ को रूपमा परिणत हुन धेरै समय लाग्ने छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.