![]()
२० कात्तिक,काठमाडौँ — प्रतिनिधिसभा निर्वाचन आउन चार महिना मात्रै बाँकी छ । सरकार र निर्वाचन आयोग चुनावको तयारीमा जुटिसकेका छन् । मुख्य राजनीतिक दलहरू केही समययता पार्टी महाधिवेशन र एकता प्रक्रियामा केन्द्रित देखिए पनि भित्र–भित्रै चुनाव उन्मुख भइरहेका छन् ।
जेन–जी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित नागरिक सरकारलाई मुख्य ‘म्यान्डेट’ नै प्रतिनिधिसभाको निर्वाचन गराउने तोकिएको छ । सरकारकै सिफारिसमा २१ फागुनमा निर्वाचन हुने घोषणा गरिएको छ ।
निर्वाचनको वातावरणलाई लिएर राजनीतिक दलहरूले संशय व्यक्ति गरिरहे पनि सरकारले अहिले निर्वाचन नै गराउने मुख्य ‘म्यान्डेट’ रहेकाले आशंका नगर्न आग्रह गरेको छ । निर्वाचन आयोगले पनि २१ फागुनमा निर्वाचन गराउने गरी तयारी भइरहेको जनाएको छ ।
२४ भदौको प्रदर्शनमा लुटिएका करिब पाँच सय हतियार बाहिरै र त्यति बेलै भागेका करिब पाँच हजार कैदीबन्दी र थुनुवा फरार रहेकाले कतिपयले सुरक्षा चिन्ता गरिरहेका छन् । विभिन्न अराजक समूहले आन्दोलनका नाममा चुनावी वातावरण बिथोल्छन् कि भन्ने आशंका पनि छ । गृहमन्त्री ओमप्रकाश अर्याल भने सुरक्षा रणनीति नै बनाएर हतियार खोजी र फरार कैदीहरू पक्राउको अभियान चलाइएकाले आत्तिनुपर्ने अवस्था नभएको दाबी गर्छन् । ‘निर्वाचन नै बिथोल्ने गतिविधिमा फरार रहेका कैदीबन्दी संलग्न नहुने सरकारको विश्वास छ,’ उनी भन्छन् ।


