![]()
१७ असोज, काठमाडौं । शनिबार दिउँसोदेखि शुरु हुने भारी वर्षाले प्रभावित क्षेत्रमा बाढीपहिरोको उच्च जोखिम हुनसक्ने भन्दै मौसमविद्हरुले जोखिमयुक्त ठाउँहरुमा राजमार्ग बन्द गरिदिनु नै उपयुक्त हुने सुझाव दिएका छन् ।
सामान्य झरीका बेलामा पनि बाढी र पहिरोको जोखिममा रहेका क्षेत्रहरुमा नै भारी वर्षाको सम्भावना देखिएको भन्दै उनीहरुले जनहितका लागि पूर्वतयारी स्वरुप राजमार्ग बन्द नै गर्नु उचित हुने सुझाव दिएका हुन् ।
मौसमविद्हरुका अनुसार, दशैंको दिन (हिजो) देखि नै सामान्य झरी परेको थियो भने विहीबार अपराह्नदेखि काठमाडौं लगायतका ठाउँमा पानी पर्ने सम्भावना छ । भारतको उडिसा नजिकैबाट विकसित भएको प्रणाली बिहार हुँदै शनिबार बिहानदेखि नेपाल भित्रिनेछ, जसले केही ठाउँमा भारी वर्षा गराउने अनुमान छ ।
भारतको मौसम विज्ञान विभागले आजदेखि नै बिहार क्षेत्रमा अति भारी वर्षाको जोखिममा रहेको भनी अलर्ट जारी गरेको छ । त्यहाँ विकसित भएको प्रणाली वीरगञ्ज आसपासको क्षेत्र हुँदै शनिबार दिनभरमा नेपाल भित्रिने मौसमविद्हरु बताउँछन् ।
शनिबारदेखि नै वीरगञ्ज आसपासदेखि जनकपुरसम्मको क्षेत्रमा भारी वर्षाको सम्भावना छ भने मधेशभर नै पानी पर्नेछ ।
पश्चिममा बुटवल/भैरहवादेखि चितवन, काठमाडौं, मकवानपुर, हेटौंडा हुँदै पानी पार्ने प्रणालीले गोरखा र तनहुँसम्म प्रभावित पार्ने आँकलन छ ।
यो प्रणाली काभ्रे, रामेछाप, महोत्तरी लगायतका ठाउँमा शनिबार र आइतबारसम्म सक्रिय हुँदै पूर्वी नेपालबाट बाहिरिने छ । देशभरको मौसममा क्रमिक सुधार हुन सोमबार बिहानसम्म लाग्ने मौसमविद्हरुको आँकलन छ ।
मौसम पूर्वानुमानका विभिन्न मोडेलहरुले फरक–फरक अवस्था देखाए पनि गत वर्ष ११–१२ असोजकै हाराहारीमा पानी पर्ने सम्भावना रहेको मौसमविद् डा. विनोद पोखरेल बताउँछन् । ‘भोलि (शनिबार) अपरान्हदेखि नै राजमार्ग बन्द गरिदिनु उपयुक्त हुन्छ,’ त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका अध्यापक पोखरेल भन्छन्, ‘चितवन, मकवानपुर, काठमाडौं, काभ्रे जस्ता क्षेत्रमा भारी वर्षा हुने सम्भावना देखिएकाले यात्रुहरुको चाप बढी हुने ती ठाउँका राजमार्ग बन्द गर्नु नै उचित हो ।’
यसपालि भारी वर्षा हुने सम्भावित ठाउँमा काठमाडौं उपत्यका र विशेष गरी दक्षिणी भाग देखिएको छ । त्यस्तो अवस्थामा राजमार्ग सञ्चालन गरेर यात्रुहरुको ज्यान जोखिममा पार्नुभन्दा बन्द गर्नु नै उचित हुने पोखरेलको सुझाव छ ।
काठमाडौं भित्रिने मुख्य नाका नारायणगढ–मुग्लिन–नागढुंगा राजमार्गका विभिन्न ठाउँहरु यसै पनि पहिरोको जोखिममा छन् । त्यसैगरी हेटौंडाबाट काठमाडौं आउने सडक, बनेपा–बर्दिबास राजमार्ग अनि वरपरका जिल्लाबाट राजमार्ग छिर्ने सडकहरुलाई बन्द गर्नु उचित हुने उनीहरु बताउँछन् ।
केही मोडेलहरुले मुग्लिन आसपासको क्षेत्रमा पनि भारी वर्षा हुने सम्भावना देखाएको छ ।



