काठमाण्डाैँ, असाेज १२ – प्राकृतिक विपत्ति कहाँ, कतिबेला, कसरी आउँछ कसैलाई थाहा हुँदैन । गत वर्ष असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकमा अकल्पनीय जनधनको क्षति भयो ।
बाढीपहिरोले त्यसबेला काभ्रेमा ७९ जनाको मृत्यु भएको थियो भने पाँच जना अझै बेपत्ताको सूचीमै छन् । बाढीपहिरोमा परेर ७५ जना घाइते भए । तर, बाढीपहिरो गएको एक वर्ष पुग्दा पनि पीडितहरु समस्यामा गुज्रिरहेका छन् ।
सबैभन्दा बढी प्रभावित जिल्लाका बेथानचोक, पनौती, रोशी, तेमाल, नमोबुद्धलगायतका पालिकाहरुका धेरै बस्तीहरु पुननिर्माण तथा स्थानान्तरण गर्नुपर्ने आवश्यकता देखिएको भएपनि उनीहरुलाई न स्थायी आवासको काम सुरु भएको छ न स्थानान्तरणकै प्रयास ।
एक वर्ष पूरा हुँदा पनि अधिकांश पालिकामा पुनर्निर्माणको काम सुरु हुन सकेको छैन । सबै पालिकामा आवास निर्माणको लागि किस्ता लिएको भएपनि दुई पालिका रोशी र बेथानचोकले मात्र दोस्रो किस्ता बापतको रकम लगेका छन् । अझै कुनै पनि स्थानीय तहमा स्थायी आवास निर्माणको काम सुरु भइसकेको छैन ।